काठमाडौँ/ संरक्षित वन्यजन्तुका आखेटोपहार अवैध रूपमा ओसारपसार तथा बिक्री–वितरणमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौँ र सिन्धुलीबाट तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) बाट खटिएको टोलीले भालुको पित्त र हात्तीको दाह्रा जस्तो देखिने वस्तुसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
काठमाडौँ महानगरपालिका-१६ सोह्रखुट्टेबाट करिब १४० ग्राम तौल भएको संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहार १ थानसहित नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-१ सिसनियाका ३१ वर्षीय योगेन्द्र प्रसाद चौधरीलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान तथा कानुन बमोजिम कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौँ पठाइएको छ।
त्यसैगरी, सिन्धुलीको कमलामाई नगरपालिका-१४ तल्लो रानीबास क्षेत्रबाट करिब ६ किलोग्राम तौल भएको हात्तीको दाह्रा जस्तो देखिने आखेटोपहार १ थानसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा कमलामाई नगरपालिका-१४ बस्ने ६० वर्षीय सोम बहादुर माझी (पोरे माझी) र महोत्तरी बर्दिबास नगरपालिका-५ बस्ने ६० वर्षीय चित्र बहादुर विश्वकर्मा रहेका छन्।
उनीहरूलाई सोमबार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आखेटोपहारसहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय सिन्धुली बुझाएको छ।
घटनाका सम्बन्धमा प्रहरी तथा सम्बन्धित वन कार्यालयले थप आवश्यक अनुसन्धान गरिरहेका छन्।