८ बैशाख,दार्चुला । नेपाली भूमि मिचेर भारतले पुनः तटबन्ध निर्माण थालेको छ। जिल्ला सदरमुकाम खलङ्गास्थित नेपाली भूमि गल्फै क्षेत्रमा भारतले डोजर प्रयोग गरी धमाधम बाँध निर्माण गरिरहेको छ।
२०७० सालको महाकाली बाढीपछि बहाव परिवर्तन भएर पारी पुगेको करिब ५० रोपनी नेपाली भूमिमा भारतले एकतर्फी रूपमा तटबन्ध बनाइरहेको स्थानीयवासीको आरोप छ। त्यस बेला नापी विभागले उक्त क्षेत्र नेपालको नै भएको प्रमाणित गरे पनि रिपोर्ट सार्वजनिक गरिएको छैन।
स्थानीय प्रशासन र जनप्रतिनिधि मौन बसिरहेको भन्दै स्थानीयहरू आक्रोशित छन्। विगतमा जनस्तरबाट अवरोध हुँदा केही समय रोकिएको काम अहिले फेरि तीव्र गतिमा अघि बढाइएको छ। नेपाली पक्षको मौखिक र लिखित आग्रहलाई बेवास्ता गर्दै भारतले मेसिन र जनशक्ति थपेर निर्माण कार्य जारी राखेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए।
दार्चुला नागरिक समाजका अध्यक्ष महेश भट्टले नेपालको सार्वभौमसत्ता र भूमिक्रममाथि भइरहेको यो हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका छन्। “भारतले नेपाली भूमि छाडेर मात्र बाँध बनाउनुपर्छ,” उनले भने।
यस विषयमा गृह मन्त्रालयलाई रिपोर्ट गरिएको र भारतसँग कूटनीतिक पहलमार्फत स्थायी समाधान खोजिनुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ। स्थानीयवासीले तत्काल निर्माण कार्य रोक्न, नापी प्रतिवेदन सार्वजनिक गर्न र सिमाना स्पष्ट गर्न माग गरेका छन्। तस्बिर : लाेकेन्द्र जाेशी