९ वैशाख,काठमाडौं । जारी शिक्षक आन्दोलनले विद्यार्थीको पठनपाठन ठप्प पारिएसँगै अभिभावकहरूले कडा आपत्ति जनाएका छन्।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षकहरूले आफ्ना माग राख्ने नाममा बालबालिकाको पढ्न पाउने अधिकार हनन गर्नु अमानवीय भएको स्पष्ट पारेका छन्।
भण्डारीका अनुसार विद्यालय बन्द गरेर आन्दोलन गर्नु शिक्षकको जिम्मेवारीविपरीतको कार्य हो। “१८ वर्षमुनिका बालबालिका नावालक हुन्। पढ्न पाउने अधिकार मानवअधिकार र बालअधिकारको विषय हो। शिक्षकको आन्दोलनले ती अधिकारमाथि प्रत्यक्ष प्रहार भएको छ,” उनले भने।
त्यस्तै, अभिभावक संघ नेपालका काठमाडौं जिल्ला अध्यक्ष विनोद थापाले सिन्युज नेपालसँग कुरा गर्दै भने, “हाम्रा बालबालिकाको भविष्यसँग खेलवाड गर्न पाइँदैन। पढ्न पाउने अधिकारबाट कोही पनि वञ्चित हुनु हुँदैन। आन्दोलन अब तुरुन्तै रूपान्तरण गर्नुपर्छ।”
उनले सामुदायिक विद्यालय बन्द हुँदा लाखौं विद्यार्थी घरमै थुनिनुपरेको तर निजी विद्यालयहरू खुलेको अवस्थालाई पनि दोहोरो मापदण्डको रूपमा चिन्हित गरे।
२१ दिनदेखि आन्दोलनरत शिक्षकहरूले अझै संवाद र समाधानको स्पष्ट दिशा नदेखाउँदा देशभरका अभिभावक चिन्तित बनेका छन्। यसैबीच शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिइसकेकी छन्, अब आन्दोलन कुन मोडतर्फ जान्छ भन्नेमा व्यापक सरोकार उठेको छ।
शिक्षकहरूले आन्दोलन गर्ने अधिकार भए पनि त्यसले विद्यार्थीको सिकाइमा असर पार्ने गरी गरिनु नहुनेमा अभिभावकहरू एकमत देखिएका छन्।