२४ बैशाख,गुल्मी । एसपी नारायण प्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय गुल्मी पुगेर आफ्नो जिम्मेवारी सम्हाल्नुका साथै जिल्लामा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
जिल्लामा शान्ति सुरक्षालाई प्रभावकारी बनाउने, आपराधिक क्रियाकलापमा शून्य सहनशीलता अपनाउने तथा स्थानीय समुदायसँग घनिष्ठ समन्वय गरेर अपराध निवारणमा सक्रिय रहने आफ्नो प्रतिवद्धता एसपी अधिकारीले व्यक्त गरेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग शाखाको पत्रादेश अनुसार लागू औषध नियन्त्रण व्यूरो प्रशासन शाखा कोटेश्वरबाट जिल्ला प्रहरी कार्यालय गुल्मीमा सरुवा भएका एसपी नारायण प्रसाद अधिकारीलाई गुल्मीमा कार्यरत डिएसपी गंगा बहादुर सारु तथा जिल्ला प्रहरी कार्यालय गुल्मी स-परिवारले स्वागत गरेका छन्।
स्वागत कार्यक्रममा एसपी अधिकारीलाई गुल्मी प्रहरी परिवारले सम्मान व्यक्त गरेको थियो।
