७ जेठ,डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीसँगै ढलेको सल्लाको रुख लाग्दा एक महिलाको ज्यान गएको छ।
घर बाहिर निस्कने क्रममा रुखको हाँगा लागेर रतन कामीकी २७ वर्षीया श्रीमती रबिना कामीको घटनास्थलमै मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विहान करिब ६ बजे पानीसँगै आएको हावाहुरीले घर आँगनमै रहेको सुकेको सल्लाको रुख ढल्यो। रुखको हाँगा रबिनाको टाउको र कम्मरमा लागेपछि उनको तत्कालै मृत्यु भएको हो। घटनामा मृतककी सासू ४५ वर्षीया राधा कामीको बाँया खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
उक्त हावाहुरीले कामी परिवारको माटो र काठले बनेको, जस्ताको छानो भएको घरमा पनि क्षति पुर्याएको छ। घरको ६ वटा कडी र ७ वटा जस्ता पाता क्षतिग्रस्त भएको जनाइएको छ। सोही घरमा रहेका अन्य ४ जनालाई भने कुनै चोटपटक लागेको छैन।
घटनाको जानकारी वडाध्यक्ष कुम्भर बुढाले बिहान ८:५० बजे दिएको आधारमा अस्थायी प्रहरी पोष्ट धिमडाबाट प्रहरी हेमराज कठायतको नेतृत्वमा २ जनाको टोली घटनास्थलमा खटिएको थियो। त्यसपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जोगबुढाबाट प्रहरी निरीक्षक सुरज रोकायाको कमाण्डमा सहायकसहित ७ जनाको टोली परिचालन गरिएको थियो।
डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले घटनास्थलको निरीक्षणपछि मृतकको शव पोष्टमार्टमका लागि जोगबुढा अस्पताल पठाइएको जानकारी दिए। उनले भने, “अचानक आएको हावाहुरीले रुख ढल्दा दुःखद ढंगले एक महिला ज्यान गुमाउनुपर्यो, विस्तृत अनुसन्धान अघि बढाइँदैछ।”
प्रहरीका अनुसार घटनास्थल अस्थायी प्रहरी पोष्ट धिमडाबाट करिब १५ किलोमिटर पश्चिममा पर्छ।