• ट्रेण्डिङ :

ढोरपाटनका मेयर नेपालीलाई थुनामा पठाउन अदालतको आदेश

ढोरपाटनका मेयर नेपालीलाई थुनामा पठाउन अदालतको आदेश

cnewsnepal

मंगलबार, जेष्ठ १३ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


पोखरा । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

पोखराकै इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पक्राउ परेका नेपालीलाई अदालतले थुनामा राख्न आदेश दिएको हो । उनी हाल बागलुङ कारागारमै छन्।

जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले सोमबार उनलाई थुनामा पठाउने आदेश गरेको अदालत स्रोतले जनाएको छ ।

नेपालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०८१ असोज ११ गते भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले इमेज सहकारी पोखराबाट नेपालीले ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ । नेपाली संस्थापक रहेको इमेजको बागलुङमा मात्र नभइ पोखराको सिर्जनाचोकमा पनि शाखा थियो ।

इमेज ठगी अभियोगमा नेपालीसहित १५ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेको थियो ।

बहुचर्चित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पनि जोडिएका उनलाई जिल्ला अदालत कास्कीले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

गत बिहीबार न्यायाधीश कृष्णजंग शाहको इजलासले नेपालीलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । तर, बागलुङ कारागारमा रहेका उनले धरौटी बुझाएका छैनन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार