डेरा घरमा जाँदा दुर्व्यवहार हुन थालेपछि स्वास्थ्यकर्मी हाल अस्पतालमै बस्दै आएका छन् । डेरामा जाँदा घरभेटीले दुर्व्यवहार गरेको गुनासो आएपछि अस्पतालभित्रै बसोबासको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिए ।
यो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगर्न सबैलाई उनले आग्रह गरे । “यदि जोकोहीमा कोरोना नै नलागे पनि बिरामी पर्दा आउने अस्पताल नै हो र उपचार गर्ने उनीहरु नै हुन् । यदि स्वास्थ्यकर्मीहरुले पनि बिरामीमा भएको रोग आफूमा पनि सङ्क्रमण हुन्छ भन्दै उपचार नगरे के अवस्था हुन्छ”, उनले भने । स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने समय भएको भन्दै यस्ता गलत काम नगर्न उनले आग्रह गरे ।
श्रमिकलाई राहत वितरण
यहाँको कमलामाई नगरपालिकाले श्रमिकलाई राहत प्याकेज ल्याएको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमण हुन नदिन भन्दै नेपाल सरकारले दैशैभर गरेको लकडाउनको अवधिमा श्रमिकलाई रहात प्यकेज ल्याएको हो ।
लकडाउनका कारण दैनिक काम गरेर जीवनयापन गरिरहेका श्रमिकलाई यस अवधिभर घरमै बसेर खान पुग्ने राहत वितरण गरिने नगरप्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । लकडाउनबाट दैनिक ज्याला मजदुरीबाट जीवीकोपार्जन गर्दै आएका नगर क्षेत्रका ३३ श्रमिकलाई खाद्यान्नको राहत प्याकेज प्रदान गरिएको प्रमुख खत्रीले जानकारी दिए ।
खोलाको किनारमा ढुङ्गा फुटाई गिट्टी बिक्री गरी दैनिकी चलाउँदै आएका ३३ श्रमिकलाई पहिलोपटक राहत दिइएको उनले बताए । ३३ जनालाई २० केजी चामल, तीन केजी दाल, एक केजी चिनी, दुई केजी आलु, ५० ग्राम बेसार, एक लिटर तेल र १ केजी नुन दिइएको छ । सो राहत प्याकेजले श्रमिकलाई १० देखि १५ दिनसम्मका लागि पुग्ने अनुमान गरिएको छ । खोला किनारमै बसेर जीवन निर्वाह गर्नेमध्ये सोमबार सम्पर्कमा आएकालाई राहत उपलब्ध गराइएको र अन्यलाई पनि सम्पर्कमा आउन उनले आग्रह गरे ।
यस्तै कमलामाई नगरपालिकाले विपन्न वर्गहरुको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । स्वास्थ्य बीमा गरेका ३९४ जनालाई पनि राहत प्रदान गरिने प्रमुख खत्रीले जानकारी दिए । “लकडाउनका कारण विपन्न वर्ग पनि प्रभावित भएको र दैनिकी चलाउन समस्या भएको अवस्थामा नगरपालिकाले त्यस्ता वर्गलाई पनि राहत उपलब्ध गराउने छ”, उनले भने ।
