गण्डकीमा थपियो चारवटा मन्त्रालय, विपक्षी सांसदलाई मन्त्री बन्न अफर

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमा मन्त्रालय थप गर्नुभएको छ । ७ वटा मन्त्रालय रहेको प्रदेश सरकारमा मन्त्रालय फोडेर ११ बनाइएको छ ।
मुख्यमन्त्री गुरुङले बुधबार केही नयाँ मन्त्रीहरु नियुक्त गरी मन्त्रालय विस्तार गर्नुभएको हो । मन्त्रिपरिषद् बिस्तारसँगै मन्त्रीहरुलाई जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुले आज दिउँसो प्रदेश प्रमुख सीता पौडेलसँग पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
यसअघि आर्थिक मामिला तथा योजनामन्त्री रहेका किरण गुरुङलाई सो मन्त्रालयसहित कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि सो मन्त्रालय माओवादी केन्द्रका लेखबहादुर थापाले सम्हाल्नुभएको थियो । सामाजिक विकास मन्त्रलायलाई फोडेर बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री स्वयंले लिनुभएको छ ।
रामशरण बस्नेतलाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालय, उर्जा, जलश्रोत तथा खानेपानी, कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । नरदेवी पुनले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । विकास लम्साललाई पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, वन वातावरण तथा भूसंरक्षण मन्त्रालय सुम्पिएको छ । दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मन्त्रालय फुटाएसँगै मुख्यमन्त्री गुरुङले अब मन्त्रीहरु थप्नुहुने छ । सदनमा बहुमत सिद्ध गनुपर्ने बाध्यतामा रहेका मुख्यमन्त्री गुरुङले सत्ता जोगाउनकै विभिन्न दलका सांसदहरुलाई मन्त्री पदको अफर गरिरहेको बुझिएको छ ।