• ट्रेण्डिङ :

आयल निगमको नयाँ योजना : सिलगुडी-झापा पाइपमार्फत तेल

आयल निगमको नयाँ योजना : सिलगुडी-झापा पाइपमार्फत तेल

cnewsnepal

बुधबार, भाद्र १६ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


पेट्रोलियम पदार्थ ढुवानीका लागि यसअघि मोतीहारी अमलेखगन्ज पाइप लाइन सञ्चालनमा ल्याएको नेपाल आयल निगमले नयाँ योजनाका रुपमा भारतको सिलगुडीबाट झापासम्म पनि पाइप लाइन निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को कार्यक्रममा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको आयल निगमले सिलगुडी-झापा पाइप लाइन निर्माण गर्ने र मोतीहारी अमलेखगन्ज पाइप लाइनलाई लोथरसम्म विस्तार गर्ने योजना बनाएको छ ।

निगमले चालु आर्थिक वर्षका लागि ७ अर्ब ४० करोड रूपैयाँको बजेट पारित गरेको छ । त्यसमा पूर्वाधार निर्माणतर्फ ५ अर्ब ८३ करोड रूपैयाँ छुट्याइएको छ । निगमले इन्धन भण्डारण स्थल निर्माण गर्न १ अर्ब ४५ करोड विनियोजन गरेको छ ।

२०७२ सालमा नयाँ संविधान जारी भएपछि त्यसको विरोधमा मधेसवादी दलहरुको आन्दोलनको बहाना बनाई भारतले नाकाबन्दी गर्दा नेपालमा इन्धन अभावले हाहाकार भएको थियो । मधेसवादी दलहरुले नाकानाकामा धर्ना दिएपछि त्यसकै आडमा भारतले नाकाबन्दी लगाएको थियो । भारतले त्यसलाई नाकाबन्दी भनेर स्वीकार नगरे पनि त्यसको स्वरुप त्यसअघि लगाइएका नाकाबन्दीभन्दा खासै फरक थिएन ।

सीमानाकामा भएको अवरोध देखाउँदै भारतले इन्धन आपूर्ति ठप्प पारेपछि नेपालले पाइप लाइनमार्फत इन्धन ढुवानी गर्ने आयोजनालाई प्राथमिकतामा राखेको हो । जसअन्तर्गत मोतीहारी अमलेखगन्ज पाइपलाइन निर्माण सम्पन्न भएर नियमित ढुवानी हुँदै आएको छ । दोस्रो चरणमा सिलगुडी झापा पाइप लाइन निर्माणको योजना आयल निगमले अघि सारेको हो ।

निगमले कृत्रिम रुपमा अभाव सिर्जना गरी पेट्रोलियम पदार्थको कालोबजारी रोक्न भण्डार स्थल निर्माण गर्ने योजना पनि अघि सारेको छ । हालको इन्धन भण्डारण क्षमता निकै कम रहेकाले तीन महिनालाई पुग्ने इन्धन भण्डारण गर्नेगरी काम अघि बढाउने योजना बनेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिएका छन् ।

निगमले अमलेखगन्जमा अमलेखगन्जमा ८ हजार किलोलिटर क्षमताको ट्यांकी र तीनवटा २ सय ५० किलोलिटर क्षमताको इन्टर मिक्स ट्यांकी बनाउने योजना बनाएको छ । साथै पाइपलाइनमा डिजेल र पेट्रोल मिसिँदा मट्टितेल बनाउने ल्याब लगायत अरू संरचना बनाउनेछ । विभिन्न डिपोमा रहेका मट्टीतेलका पुराना ट्यांकीलाई कन्भर्जिङ गरेर डिजेल र पेट्रोल भण्डारण गर्न मिल्ने संचरना बनाउने योजना पनि निगमको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार