• ट्रेण्डिङ :

‘उत्पादमूलक क्षेत्रले दिगो आर्थिक वृद्धिको आधार तयार गर्छ’ : अर्थमन्त्री शर्मा

‘उत्पादमूलक क्षेत्रले दिगो आर्थिक वृद्धिको आधार तयार गर्छ’ : अर्थमन्त्री शर्मा

cnewsnepal

बिहिबार, भाद्र ३१ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं, ३१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

कोषको ६०औँ वार्षिकोत्सव समारोहलाई आज  भर्चुअल सम्बोधन गर्दै उहाँले उत्पादमूलक क्षेत्रले मात्रै दिगो आर्थिक वृद्धिको आधार तयार पार्नेछ भन्नुभयो ।

“सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, यसले राष्ट्रिय पूँजी निर्माणमा सहयोग पु¥याउँछ”, उहाँले भन्नुभयो, “उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ ।”

उहाँले सञ्चयकर्ताको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र  कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताहरुका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कोषको कूल लगानी आर्थिक वर्ष २०७७÷७८ सम्म रु चार खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा रु तीन खर्ब ९८ अर्ब छ करोड मौज्दात छ ।

निवृत्तभरण कोषमा रु एक अर्ब ५८ करोड छ । कोषको दायित्व रु चार अर्ब ६७ करोड रहेकोे छ ।

सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताका लागि सात हजार ५०० का दरले दुईपटकसम्म प्रसूति खर्च उपलब्ध गराउँछ । .

यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा रु दुई लाख  सहायता प्रदान गर्दछ ।

सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट रु ४० हजार काजकिरीया खर्च उपलब्ध गराउँछ ।

यसैगरी कोषले सामान्य औषधोपचारको हकमा रु एक लाख तथा घातक रोगको हकमा रु १० लाखसम्मको उपचार खर्च शोधभर्ना गर्ने गरेको छ ।

विसं २०१९ भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि विसं १९९१ मा सैनिक द्रव्यकोष, विसं २००१ मा निजामती प्रोभिडेण्ट फण्ड र  विसं २०१७ मा सञ्चयकोष विभागको नाममा यसको काम कारबाही सञ्चालन गरिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार