• ट्रेण्डिङ :

चन्द्रागिरि स्वास्थ्य शाखाको ‘कोल्ड चेन’ भत्किँदा जनस्वास्थ्यमा गम्भीर खेलबाड, शाखा प्रमुख महतोको चरम लापरबाही

चन्द्रागिरि स्वास्थ्य शाखाको ‘कोल्ड चेन’ भत्किँदा जनस्वास्थ्यमा गम्भीर खेलबाड, शाखा प्रमुख महतोको चरम लापरबाही

​खोजमूलक विशेष रिपोर्ट

cnewsnepal

शनिबार, असार १३ २०८३
पढ्न लाग्ने समय: < ३ मिनेट


​​काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिकाको स्वास्थ्य शाखाले जनस्वास्थ्य मापदण्डको धज्जी उडाउँदै संवेदनशील औषधि र भ्याक्सिन (खोप) व्यवस्थापनमा चरम लापरबाही गरेको सनसनीपूर्ण तथ्य फेला परेको छ।

नगरभित्रका स्वास्थ्य चौकीदेखि अस्पतालसम्म नियमित वितरण गरिने जीवनरक्षक औषधि र भ्याक्सिनको ओसारपसार एवं आपूर्ति प्राविधिक ज्ञान नै नभएका कार्यालय सहयोगी (तल्लो तहका कर्मचारी) मार्फत गराइने गरेको पाइएको हो।

​सामान्यतया फर्मासिस्ट वा निश्चित स्वास्थ्य प्राविधिकले मात्र सम्हाल्नुपर्ने संवेदनशील ‘कोल्ड चेन’ (तापक्रम व्यवस्थापन) को जिम्मेवारी औषधिको नाम समेत उच्चारण गर्न नसक्ने कर्मचारीको भरमा छोडिँदा नगरबासीको स्वास्थ्यमाथि गम्भीर संकट निम्तिएको छ।
​ ‘कोल्ड चेन’ भत्किने जोखिम: जीवनरक्षक खोप कि ‘पानीको थोपा’?
​भ्याक्सिन र केही विशेष औषधिहरूलाई निश्चित न्यून तापक्रममा भण्डारण र ओसारपसार गर्नुपर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय औषधि मापदण्ड छ। तापक्रम तलमाथि हुनासाथ भ्याक्सिनहरू निष्क्रिय बन्छन्, जसको प्रयोगले रोगविरुद्ध लड्ने क्षमता त दिँदैन नै, उल्टै जनस्वास्थ्यमा गम्भीर दुर्घटना निम्त्याउन सक्छ।
​प्राविधिक ज्ञान शून्य रहेका कार्यालय सहयोगीलाई दबाब दिएर डरका भरमा यस्तो गम्भीर काममा खटाइँदा नगरमा वितरित खोपहरू कति सुरक्षित छन् भन्नेमा ठुलो प्रश्नचिह्न खडा भएको छ। “यसमा ती निर्दोष कार्यालय सहयोगीको कुनै गल्ती छैन, गल्ती त उनीहरूलाई जबरजस्ती यस्तो काममा धकेल्ने नेतृत्वको हो,” स्रोत भन्छ।
भत्ता पचाउन बजेट स्वाहा, प्राविधिक जनशक्तिमा बेवास्ता
​चन्द्रागिरि स्वास्थ्य शाखामा चरम विरोधाभास देखिएको छ। एकातिर जनशक्ति व्यवस्थापन र प्राविधिक परिचालनमा ‘बजेट र ध्यान छैन’ भन्दै पन्छिने गरिएको छ भने, अर्कोतिर स्वास्थ्य शाखाभित्र विभिन्न तालिम, अभिमुखीकरण र नक्कली अनुगमनका नाममा दैनिक भत्ता र बजेटको व्यापक दुरुपयोग भइरहेको दाबी स्रोतले गरेको छ। कागजमा कार्यक्रम देखाएर भत्ता कुम्ल्याउने तर वास्तविक कार्यक्षेत्रमा भने जनस्वास्थ्यमाथि खेलबाड गर्ने प्रवृत्ति स्वास्थ्य शाखामा मौलाएको छ।
​आक्रोशित स्थानीयको प्रश्न: दुर्घटना भए जिम्मेवारी कसले लिने?
​स्वास्थ्य शाखाको यो बेथिति बाहिरिएसँगै चन्द्रागिरिका स्थानीय बासिन्दा र सरोकारवालाहरू आक्रोशले आगो भएका छन्। उनीहरूले सोधेका छन्— “भोलि गलत औषधि आपूर्ति भएर वा तापक्रम नमिलेर निष्क्रिय भएको खोपका कारण कुनै नागरिक वा बच्चाको ज्यान गएमा त्यसको नैतिक र कानुनी जिम्मेवारी कसले लिने? नगरपालिका कि शाखा प्रमुखले?”

प्रमुख शम्भु कुमार महतोको ‘मौनता’ र ‘गैरजिम्मेवारी’
​स्थानीयबासी र पीडित कर्मचारीहरूका अनुसार यो सम्पूर्ण भद्रगोल र बेइमानीका मुख्य योजनाकार नगर स्वास्थ्य शाखाका प्रमुख शम्भु कुमार महतो हुन्। उनको गैरजिम्मेवार कार्यशैली र ‘कमिसन एवं भत्ता’ केन्द्रित राजनीतिकका कारण स्वास्थ्य क्षेत्र धराशयी बनेको आरोप लागेको छ।

तत्काल छानबिन र कारबाहीको माग
​औषधि तथा खोप व्यवस्थापन राष्ट्रिय मापदण्डविपरीत चन्द्रागिरिका नागरिकको जीवनसँग खेलबाड गर्ने स्वास्थ्य शाखा प्रमुख महतोमाथि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरी कानुनी कारबाही गर्न स्थानीयले नगरपालिका प्रशासनसँग जोडदार माग गरेका छन्। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही गर्नेलाई कारबाही नगरिए आन्दोलनमा उत्रिने चेतावनी समेत स्थानीयले दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार