• ट्रेण्डिङ :

दिगो र समावेशी खानेपानी आयोजनालाई अझ सशक्त रूपमा अगाडि बढाइने : मन्त्री यादव

दिगो र समावेशी खानेपानी आयोजनालाई अझ सशक्त रूपमा अगाडि बढाइने : मन्त्री यादव

cnewsnepal

मंगलबार, जेष्ठ १३ २०८२
पढ्न लाग्ने समय: < ३ मिनेट


१३ जेठ, हेटौँडा ।  खानेपानी मन्त्री प्रदीप यादवले देशभर दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

हेटौँडा उपमहानगरपालिका–१६ मा निर्माण सम्पन्न ‘बृहत शक्ति खानेपानी आयोजना’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली नागरिकलाई सुरक्षित, स्वच्छ र शुद्ध खानेपानी वितरण गर्न सरकार दृढताका साथ लागिपरेको स्पष्ट पारे। उनले भने, “सरकार सबै नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यमा कटिबद्ध छ। दिगो र समावेशी खानेपानी आयोजना हाम्रो प्राथमिकतामा पर्छन्।”

मन्त्री यादवले प्रत्येक नागरिकको स्वच्छ, सुरक्षित र पर्याप्त मात्रामा खानेपानी प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न सरकारले खानेपानी क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्दै आएको उल्लेख गरे । उनले दिगो विकास लक्ष्यअनुरूप देशभरका घरघरमा सुरक्षित र भरपर्दो खानेपानी पुर्‍याउने सरकारको लक्ष्य रहेको जानकारी दिए।

कार्यक्रममा मन्त्री यादवले उद्घाटन गरिएको बृहत शक्ति खानेपानी आयोजनाले हेटौँडावासीले शक्ति खोलाबाट प्राप्त हुने शुद्ध खानेपानी प्रयोग गर्न सक्ने विश्वास व्यक्त गरे। उनका अनुसार शक्ति खोला मुहानबाट पम्पिङ प्रणालीमार्फत उच्च भू–भागमा पानी भण्डारण गरी वितरण गरिनेछ। यसका लागि वर्षा, साना छहरा र भू–गर्भीय जलस्रोतको उपयोग गरिने छ, जसले आसपासका कृषि र बस्ती क्षेत्रलाई समेत लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमका विशिष्ट अतिथि तथा प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले बृहत शक्ति खानेपानी आयोजना दीर्घकालीन सोच र गहिरो योजनाको प्रतिफल भएको बताउँदै यसले हेटौँडा र वरपरका हजारौँ घरधुरीमा सुरक्षित पानी पुर्‍याउने विश्वास व्यक्त गरे ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले खानेपानी तथा सरसफाइ क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीचको संयुक्त प्रयास अपरिहार्य रहेको धारणा राखे। उनले विभागले सबै स्थानीय तहको ‘वास प्लान’ तयार गर्न सहयोग गरिरहेको जानकारी दिँदै योजनाअनुसार आवश्यक संरचनाहरू निर्माण भइरहेको उल्लेख गरे ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौँडाका प्रमुख पूर्णप्रसाद उपाध्यायका अनुसार आयोजनाबाट हेटौँडा उपमहानगरपालिका–१६ का करिब ८ हजार ७१९ जना नागरिक लाभान्वित हुनेछन्। नियमित र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउने यस आयोजनाले जनस्वास्थ्यमा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ। आयोजनाको कुल लागत (भ्याटसहित) ६ करोड ६७ लाख ६७ हजार ६३ रुपैयाँ ९२ पैसा रहेको छ।

कार्यक्रममा राप्रपा नेता तथा सांसद दीपकबहादुर सिंह, बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्का, प्रदेश सांसद प्रेमबहादुर पुलामी, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, वडा नं १६ का अध्यक्ष रामकृष्ण कोईरालालगायत जनप्रतिनिधि र स्थानीयवासीहरूको उपस्थिति थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार