• ट्रेण्डिङ :

पाँच महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति हुँदै

पाँच महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति हुँदै

cnewsnepal

बुधबार, कार्तिक २१ २०८१
पढ्न लाग्ने समय: < ३ मिनेट


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को क्षमता अभिवृद्धि गरिँदै छ । नेपाल नागरिक उड््डयन प्राधिकरण (क्यान) ले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल विस्तार गर्न लागेको हो ।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिणपश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको पूर्वतर्फको ह्याङ्गर एप्रोनलगायत विस्तार गर्ने छ । यी काम पूरा गर्न करिब रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार टिआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको छ ।

‘विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्ने छ भने एयर ट्राफिक व्यवस्थापनमा थप सहज हुन्छ’ महानिर्देशक अधिकारीले भन्नुभयो ।

स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको प्राधिकरणले स्पष्ट पारेको छ । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ ।

आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गर्नुभयो ।

नेपाल र सम्बन्धित मुलुकबिचका द्विपक्षीय तथा बहुपक्षीय हवाई सेवा सम्झौताको आधारभूत मान्यताबमोजिम विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक उडान सङ्ख्या व्यवस्थापन गरिएको जनाउँदै प्राधिकरणले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई विशेष अनुरोध गरेको छ । प्रचलित कानुनले तोकेको सीमाको परिपालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्त विपरीत उड्डयन क्रियाकलाप नगर्न/नगराउन सम्बद्ध पक्षलाई प्राधिकरणले आग्रह पनि गरेको छ ।

नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् ।

टिआइए भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एकसय हाराहारी उडान हुने गरेका छन् ।

पटक पटक विमानस्थल विस्तार र मर्मत

देशकै जेठो अन्तर्राष्ट्रिय विमानस्थल टिआइएको पटक पटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । २०७७ सालमा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यति बेला पनि बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टू) विस्तार भएको थियो ।

२०७५ सालमा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झन्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्रे) गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार