अफगानिस्तानमा नेपालीहरुले दुःख पाइरहेका छन्, यहाँ परराष्ट्र मन्त्रालय मन्त्रिविहीन छ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस १४ औं महाधिवेशन गर्नुपर्ने वाध्यात्मक अवस्थामा छ, विवाद भने डलाग्दो छ । यसै सन्दर्भमा हामीले पूर्वपरराष्ट्र, ऊर्जालगायत मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसँग कुराकानी गरेका छौं । प्रस्तुत छ महतसँग गरिएको कुराकानीको सारसंक्षेप :
सरकार गठन भएको एक महिना बढी भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन, कारण के हो ? कहिलेसम्म पूर्णता पाउँछ ?
वर्तमान नेपाली कांग्रेसका श्रद्धेय सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठबन्धन सरकार हो । मन्त्रिपरिषद्ले पूर्णता पाउन सबै दलबीच सहमति हुन र आवश्यक छलफल हुन आवश्यक छ । हामीलाई सरकार निर्माणमा सहयोग गर्नुभएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पार्टी निर्वाचन आयोगमा दर्ता प्रक्रियामा छ । उहाँको पार्टी आयोगमा दर्ता भयो भने, सत्ता गठबन्धनका दलहरुसँग छलफल गरेर अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुन्छ ।
कहिलेसम्म विस्तार हुन्छ, केही भन्न सक्ने अवस्था छ ?
निर्वाचन आयोगले नयाँ पार्टी निर्माणका लागि कानुन अनुरुप केन्द्रीय समिति र सांसदको संख्या पुग्छ कि पुग्दैन भनेर सनाखत गरिसकेको छ । अब आयोगले दर्ता प्रमाणपत्र दियो भने आज शुक्रबारसम्म अर्थात यही साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउन सक्ने सम्भावना छ ।
कुन दलले कति मन्त्रालय पाउने भागवण्डा मिलिसक्यो कि मिलाउन बाँकी छ ?
हामीबीच सैद्धान्तिक सहमति बनिसकेको छ । तर, त्यसलाई अैपचारिकता दिन बाँकी छ । नेकपा एकीकृत समाजवादी पार्टीले आधिकारिकता पाएपछि यो विषय टुंग्याउन समय लाग्दैन ।
कुन दलले कति मन्त्रालय पाउने सैद्धान्तिक सहमति बनेको छ, भन्न मिल्छ ?
हामीबीच सैद्धान्तिक रुपमा सांसदको संख्याका आधारमा मन्त्रालयको भागवण्डा गर्ने सहमति बनेको छ । त्यसबाहेक सरकार निर्माणमा बढी सहयोग गर्ने दललाई मन्त्रालय दिने हिसावमा लचिलो बन्ने सहमति पनि छ । संख्या यती भनेर त बाहिर नभनौ, यत्ति बुझ्नुस् मन्त्रालयकाण् भागवण्डामा हामीबीच विवाद हुन्न ।
दुई तिहाइको सरकारलाई ढालेर किन तपाईहरु सरकारमा पुग्न पर्ने अवस्था आयो ?
एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा बहुमतसहित सरकारमा पुगेको थियो । सरकारबाट नागरिकका धेरै अपेक्षा थिए । तर, सरकारको नेतृत्व गरेका व्यक्तिले कामभन्दा बढी गफ गर्दा जनताका कुनै पनि अपेक्षा पूरा हुन सकेनन् ।
सरकारबाट आश्वासनको पोका मात्रै बाँड्ने काम भयो । बोल्ने एउटा अनि गर्ने अर्कै गरे । त्यो मिथ्या रहेछ । जनतालाई झुक्याउने काम मात्रै गरे । हामी कांग्रेस काम गर्छौं । तर, जनतामा यो पुग्दैन् । तर, कम्युनिष्टहरु भने हामीले गरेको भन्दै जनतामा पुग्छन् ।
गरेका काम तपाईहरुले जनतासम्म हामीले गर्यौ भनेर पु¥याउन नसक्नाको कारण के हो ?
हामी प्रचारलाई भन्दा काममा ध्यान दिन्छौं । हामीले त काम नै गरेको हो नि । जनताको सेवामा केन्द्रित भएर कांग्रेस समर्पित हुनुपर्छ । भाषणको जति प्रभाव हुन्छ, त्यो भन्दापनि सयौं गुण बढी प्रभाव गीत तथा संगितको हुन्छ ।
अहिले कांग्रेको सरकारले यसअघिको सरकारले बिगारेको राजनीतिलाई सही ट्रयाकमा ल्याएको छ । हाम्रो यो सरकार आकाश र पातालको कुरा गर्दैन । बरु, जनताको आवश्यकत्ता प्राथमिकतमा केन्द्रित भएर काम गर्छौं । यही प्रण प्रधानमन्त्रीज्यूले गर्नुभएको छ ।
प्रधानमन्त्रीको कुरा निकाल्नु भयो, सरकारका अहिलेका प्राथमिकता के हुन् ?
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडबाट देश र जनतालाई बचाउने भनेर सार्वजनिक रुपमै प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले सबै जनतालाई खोप सुनिश्चित् गरेर संक्रमणबाट मुक्त गर्नुपर्छ भन्नुभएकोछ ।
सामाजिक जीवन सहज बनाउने दायित्व हो । भ्रष्टाचारको न्यूनीकरण गर्ने हो । कांग्रेस फरक हो भनेर देखाउँछौं । संस्थागत भ्रष्टाचारको अन्त्य र व्यक्तिगत लोभलालच पनि गलत हो भनेर देखाउँछौं । साधन र स्रोतले भ्याएसम्म हामी काम गर्छौं ।
कम्युनिस्टले तीन वर्ष सत्ता चलाउँदा उनीहरुबाट यहाँहरुले के के सिक्नुभयो ?
कांग्रेसले कम्युनिस्टबाट सिक्ने दुई कुरा छन् । पहिलो कुरा भनेको संगठन निर्माण र अर्को प्रचार हो । त्यसबारे हामी अब रणनीति बनाएर अगाडि बढ्छौं । हामीले कम्युनिष्टलेजस्तो झुठो प्रचार गर्न आवश्यक छैन् । तर, गरेको कामको प्रचार त गर्नुपर्यो नि । त्यसका आधारमा अब पार्टीले कार्ययोजना बनाउँछ ।
केही फरक प्रसंग, पछिल्लो समय छिमेकी भारतसँग कांग्रेसको सम्बन्ध त्यति राम्रो नभएको राजनीतिक वृत्तमा चर्चा चल्छ, खास के हो ?
भारतमा लोकतन्त्र सफल हुनु भनेको नेपालमा पनि लोकतान्त्रिक मूल्य र मान्यता कार्यान्वयन हुनु हो । नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ । यसलाई थप उचाइमा पुर्याउनु पर्छ ।
भारतसँग नेपालको बहुआयामिक सम्बन्ध रहेकोले बेला बेलामा समस्या उत्पन्न हुनु स्वभाविक हो । मजबुद सम्बन्ध विकासको लागि निरन्तर सम्वाद जारी राख्नुपर्ने र एक अर्काको मुद्दालाई कुटनीतिक टेबुलमा राखेर समाधान गर्नुपर्ने आवश्यक छ ।
आफ्नो देशलाई केन्द्रविन्दुमा राखेर कांग्रेस अघि बढ्छ । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतसँग विश्वासको सम्बन्ध बनाएर अघि बढाउनेमा म विश्वस्त छु ।
अब पार्टीको प्रसंग, विवाद चर्को छ, घोषित मितिमा १४ औं महाधिवेशन हुन्छ ?
सोमबार साँझ पार्टीले क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वमा बनाएको कार्यदलले विवाद सहमतिमा टुंग्याएर प्रतिवेदन बुझाएको छ ।
सभापतिले प्रभाणित गरेर निर्वाचन समितिलाई बुझाउने तयारी भइरहेको छ । त्यसपछि पूर्वनिधारित मितिमा महाधिवेशन हुन्छ । त्यसको तयारीमा पार्टी जुटिसकेको छ ।
पार्टीले बनाएका सम्यन्त्र जुटिसकेका छन् । १८ गते वडा अधिवेशन हुन्छ । अन्य सबै अधिवेशन भएर आगामी मंसिर ९ देखि १३ गतेसम्म पार्टीको १४ औं महाधिवेशन सम्पन्न हुन्छ ।
पार्टी कार्यालयमा जिल्ला सभापतिहरु धर्नामा बस्नुभएको छ, धेरै नेता कार्यकर्ता अधिवेशन सुरु हुन्न भनेर काठमाडौँमै छन् ?
ती विवाद सबै समाधान हुन्छन् । उहाँहरुको माग क्रियाशील सदस्यताको नामावली पार्टी वेबसाइटमार्फत सार्वजनिक गर्ने भन्ने हो । त्यसको तयारी भइसकेको छ ।
सभापतिले प्रभाणित गरेपछि निर्वाचन आयोगलाई बुझाउने र सार्वजनिक गर्ने कार्यक्रम संगसंगै हुन्छन् । त्यो प्रतिबद्धता पार्टी प्रवक्ताले उहाँहरु समक्ष जनाइसक्नु भएको छ । राजतिलकका साथमा ।