• ट्रेण्डिङ :

विधान उल्लंघन र नक्कली कागजातको विवाद: खारेजीको जोखिममा वीरता लेडी जेसीज

विधान उल्लंघन र नक्कली कागजातको विवाद: खारेजीको जोखिममा वीरता लेडी जेसीज

cnewsnepal

बुधबार, असार ३ २०८३
पढ्न लाग्ने समय: < ४ मिनेट


असार २, बिर्तामोड, झापा । नेतृत्वको असक्षमता र गम्भीर विधान उल्लंघनका कारण बिर्तामोडस्थित वीरता लेडी जेसीज खारेजीको जोखिममा परेको छ। केन्द्रको निर्देशन अवज्ञा गरेपछि नेपाल जेसीजले वीरता लेडी जेसीजका सम्पूर्ण गतिविधिमाथि कडा प्रतिबन्ध लगाएको छ।
नेपाल जेसीजका राष्ट्रिय महासचिव जेसी अमर घिमिरेद्वारा जारी पत्रमा वीरता लेडी जेसीजले सम्पन्न गरेको साधारण सभा र निर्वाचन प्रक्रिया अवैध ठहर गरिएको छ। यसअघि २०२६ जनवरी २८ मा आवश्यक कागजातसहित प्रतिवेदन पेश गर्न दिइएको निर्देशन अनुसार निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी अनिश भट्टराईले बुझाएको छानबिन प्रतिवेदनमा निर्वाचन प्रक्रिया त्रुटिपूर्ण पाइएको उल्लेख छ।
मुख्य विवाद र आरोपहरू
• नक्कली डकुमेन्ट र एआई (AI) फोटोको प्रयोग: वीरता लेडी जेसीजले केन्द्रमा झुटा डकुमेन्ट, सर्टिफिकेट र एआईद्वारा बनाइएको फोटो पेश गरेर संस्थाको गरिमामा आँच पुर्‍याएको दाबी गरिएको छ। सोही कारण नेपाल जेसीजको दोस्रो बोर्ड बैठकमा राष्ट्रिय उपाध्यक्ष मेनुका ओलीमाथि कारबाहीको प्रस्तावसमेत पेश भएको छ।
• परिपत्र लुकाएको आरोप: नेपाल जेसीजले सन् २०२४ मा शाखाको अध्यक्ष हुनका लागि तय गरेको न्यूनतम क्राइटेरिया (मापदण्ड) सम्बन्धी पत्र तत्कालीन अध्यक्ष मेनुका ओलीले कार्यसमिति र पूर्व अध्यक्षहरूबाट लुकाएको आरोप छ।
• योग्यता नपुगेकी अध्यक्ष: विधान अनुसार अध्यक्ष हुनका लागि नेपाल जेसीजको कम्तिमा ४ वटा क्षेत्रीय सम्मेलन र ३ वटा राष्ट्रिय महाधिवेशनमा सहभागी भएको तथा विशिष्ट जेसीज तालिम (TT, MTT वा JCI Academy) लिएको हुनुपर्ने व्यवस्था छ। तर, यी योग्यता नपुगेकी मुना ढुङ्गेललाई सन् २०२६ को अध्यक्ष घोषणा गरिएपछि संस्थाकै सदस्य झुमा भट्टराई चुडालले २०८२ पुस ३० गते केन्द्रमा लिखित उजुरी दिएकी थिइन्।

 

निर्देशनको अवज्ञा र ‘सुटुक्क’ पद हस्तान्तरण
उजुरी परेपछि नेपाल जेसीजका जिम्मेवार पदाधिकारीहरूले फोनमार्फत तत्काल पद हस्तान्तरण रोक्न निर्देशन दिएका थिए। तर, संस्थाकी निवर्तमान अध्यक्ष एवम् निर्वाचन अधिकृत मेनुका ओलीले केन्द्रको निर्देशनलाई अटेर गरी माघ १ गते बिहान सचिवालयको सानो कोठामा १५-२० जनाको उपस्थितिमा सुटुक्क पद हस्तान्तरण गराएकी थिइन्।
अधिवेशनका लागि १५ दिन अगावै स्थानीय सञ्चारमाध्यममा सूचना दिनुपर्ने वैधानिक व्यवस्था भए पनि ३ दिनअघि फेसबुकमा मात्र सूचना पोष्ट गरेर विधानको धज्जी उडाइएको स्रोतले जनाएको छ। निरूपित राष्ट्रिय उपाध्यक्ष अनिश भट्टराईले विधान विपरीत कार्य गर्ने जो कोहीलाई बोर्ड बैठकबाट कारबाही गरिने स्पष्ट पारेका छन्। यता, निर्वाचन अधिकृत ओलीले भने आफूले विधानसम्मत नै कार्य गरेको दाबी गर्दै उपाध्यक्ष भट्टराईमाथि सञ्चारमाध्यममा एकतर्फी प्रचार गरेको आरोप लगाएकी छिन्।
पूर्व अध्यक्ष र सदस्यहरूको आक्रोश: “इतिहासकै लज्जास्पद घटना”
गुपचुप रूपमा गरिएको पद हस्तान्तरणप्रति वीरता लेडी जेसीजका पूर्व अध्यक्ष र सदस्यहरूले सामाजिक सञ्जालमार्फत तीव्र आक्रोश र दुःख व्यक्त गरेका छन्:
• राधा सुब्बा (पूर्व अध्यक्ष): “चेन हस्तान्तरण कार्यक्रममा निर्वाचन मण्डली मात्र देख्छु। आजसम्म यस्तो भएको थिएन, खुसुक्कै थाहा नपाउने गरी भयो। यो नेपाल जेसीजमै पहिलो रेकर्ड हो।”
• रजनी बजगाईँ (पूर्व अध्यक्ष): “अति दुःखद् परिस्थिति। यसरी रातारात, चुपचाप सचिवालयको सानो कोठामा सदस्यहरूलाई पनि नबोलाईकन पद हस्तान्तरण गर्नुपर्ने अवस्था किन आयो?”
• सोमा शिवाकोटी (पूर्व अध्यक्ष): “सन् २००४ मा स्थापित संस्था २०२५ सम्म आइपुग्दा जम्मा ४ जना गएर चेन लगाइदिएछन्, यस्तो दिन पनि देख्नुपर्‍यो!”
• दीपा शिवाकोटी लुईंटेल (पूर्व कार्यकारिणी उपाध्यक्ष): “यो झुमा चुडालमाथि गरिएको अन्यायको सजाय हो। लुकिछिपी र रातारात पद हस्तान्तरण गर्नु वीरता लेडी जेसीजको इतिहासकै सबैभन्दा दुःखद् र लज्जास्पद क्षण हो।”
• कामना उप्रेती (सदस्य): “हामी चाहिँ को हौँ र यसरी गुपचुप गर्नुपर्ने? पदको लोभ र अहंकारले भरिएका केही व्यक्तिले मेरो गर्विलो संस्थालाई ८-१० जनाको घेराबन्दीमा पारे। आज मेरो मन रोएको छ।”

आगामी कदम
नेपाल जेसीजले ६ दिनभित्र अधिवेशन तथा निर्वाचनसँग सम्बन्धित सम्पूर्ण प्रमाणित कागजात र प्रतिवेदन केन्द्रमा पठाउन कडा निर्देशन दिएको छ। उक्त पत्र क्षेत्र ‘क’ का निरूपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष योगेश राजवंशी, उपाध्यक्ष अनिश भट्टराई र संस्थापक अध्यक्ष शारदा रिजालसहित सम्बद्ध पदाधिकारीहरूलाई बोधार्थ पठाइएको छ। केन्द्रको अर्को आदेश नआएसम्मका लागि वीरता लेडी जेसीजका सम्पूर्ण गतिविधिहरू ठप्प रहने भएकाले संस्थाको भविष्य संकटमा परेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार