• ट्रेण्डिङ :

सगरमाथा बेसक्याम्पमा विशेष संवाद : जलवायु परिवर्तन र हिमाली जीवनमा सरकारको ध्यानाकर्षण

सगरमाथा बेसक्याम्पमा विशेष संवाद : जलवायु परिवर्तन र हिमाली जीवनमा सरकारको ध्यानाकर्षण

cnewsnepal

शनिबार, जेष्ठ ३ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


३ जेठ,साेलु । नेपाली कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन, हिमाली जीवन, र सरकारसँगको अपेक्षासम्बन्धी विशेष संवाद सम्पन्न भएको छ। महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डे सगरमाथा आधारशिविर पुगेका थिए।

३१ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गर्दै सुरु गरिएको संवादमा हिमाली क्षेत्रमा सरकारका तत्कालीन र दीर्घकालीन कार्ययोजनासम्बन्धी १६ बुँदे प्रस्तुति आरोही बाबु शेर्पाले वाचन गरेका थिए।

लुक्लादेखि पाँच दिनको पदयात्रा गर्दै सगरमाथा आधारशिविर पुगेका महामन्त्री शर्मा हाल हिमाली क्षेत्रका नागरिक र हिमाल आरोहण क्षेत्रका समस्या पहिचान गर्दै सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउने अभियानमा छन्।

१६ बुँदालाई ग्रहण गर्दै गृहमन्त्री लेखकले जलवायु परिवर्तन र हिमाली जीवनको विषयमा सरकार गम्भीर ढङ्गले कार्यरत रहेको बताए। पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासमा १६ बुँदाको कार्यान्वयनमा विशेष सक्रियता रहने प्रतिबद्धता जनाए।

महामन्त्री शर्माले आधारशिविरमा सञ्चार टावर, भरियाको बिमा, सुरक्षा युनिटजस्ता विषयमा सरकारको तत्काल ध्यान आवश्यक रहेको बताए। साथै, कार्बन उत्सर्जन बढी गर्ने ठूला राष्ट्रहरूलाई दबाब दिन साना राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कीर्तिमानी आरोही कामिरिता शेर्पा, डा. आशीष पौडेल, मिङ्मा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटे लगायतले सगरमाथा क्षेत्रमा विद्यमान समस्याहरू समाधानका लागि सरकारलाई विशेष योजना बनाउन सुझाव दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार