साताको चौथो दिन बुधबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । घरि रातो घरि हरियो बनेको नेप्से बजार बन्द हुँदा झिनो विन्दुले बढेर २९७७.०२ मा रोकिएको छ । बजारमा कारोबार समयभर देखिएको गतिविधिले लगानीकर्ता अन्योलमा रहेको संकेत गरेको छ ।
नेप्से हरियो नै रहेर बजार बन्द भए पनि यस दिन कमाउने भन्दा गुमाउने स्क्रिप्ट धेरै छन् । यसले बजारमा बियरिस मनोविज्ञान हावी रहेको संकेत गरेको छ । यसअघिका दुई कारोबार दिन तीव्र गतिले बजार ओरालो लागेको थियो । यसबाट लगानीकर्ताले बजारले बियरिस बाटो समातेको अनुमान गरिरहेका छन् ।
क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि झिनो विन्दुले हरियो देखिएको छ । नेप्से १.१४ विन्दुले धनात्मक हुँदा सेन्सेटिभ इन्डेक्स ०.१७ विन्दुले हरियो छ । बुधबार कारोबार भएका २२६ स्क्रिप्टमध्ये १२३ वटाको मूल्य ओरालो लाग्दा ८४ वटाको मूल्य बढेको छ भने १९ वटाको क्लोजिङ मूल्य स्थिर देखिएको छ ।
केही दिन यता बजारका कारोबार रकममा पनि निरन्तर गिरावट आएको छ । यसले पनि बजार कम्जोर बन्दै गएको देखाएको छ । बुधबार एक लाख ४ हजार ३४२ कारोबारबाट एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५५ रुपैयाँमा खरिदबिक्री भएका छन् । मंगलबार कारोबार रकम १३ अर्ब २५ करोड ९६ लाख एक सय सात रुपैयाँ थियो । आइतबार १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ रुपैयाँको सेयर कारोबार भएको थियो । सोमबार भने सार्वजनिक बिदा भएकाले सेयर बजार बन्द रह्यो ।
बुधबार सबैभन्दा बढी कमाउनेमा रुरु जलविद्युत् कम्पनी देखिएको छ । यस कम्पनीको सेयर मूल्य ७.५५ प्रतिशतले बढेर १४४८ पुगेको छ । त्यस्तै सबैभन्दा बढी गुमाउनेमा सनराइज फस्र्ट म्युचुअल फन्ड देखिएको छ । यो स्क्रिप्टको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।