• ट्रेण्डिङ :

स्थानीय तहको धम्कीबाट विचलित नहुन आन्दोलनरत शिक्षकलाई महासंघको आग्रह

स्थानीय तहको धम्कीबाट विचलित नहुन आन्दोलनरत शिक्षकलाई महासंघको आग्रह

cnewsnepal

आइतबार, बैशाख १४ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौँ । नेपाल शिक्षक महासंघले आन्दोलनरत शिक्षकलाई स्थानीय तहले धम्क्याउन थालेको बताएको छ ।

महासंका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनरत शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई आग्रह गरेका छन् ।

महासंघले काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेको दाबी गरेको हो।

विज्ञप्तिमा अगाडि भनिएको छ, संविधान प्रदत्त सामूहिक सौदावाजीको अधिकार उपयोगप्रति सम्मान गरी यस्ता कार्य नगर्नरनगराउन सबै स्थानीय तहहरूलाई आग्रह गर्दे यो परिस्थितिबाट विचलित नहुन सबै शिक्षक-कर्मचारी साथीहरूमा अनुरोध गर्दछौँ।

२०८१ माघ २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँका सडकमा प्रदर्शन गरिरहेको छ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यले गरिएको यो आन्दोलन अन्तिम र निर्णायक आन्दोलन भएको दाबी शिक्षक महासंघले गरेको छ।

यसैले यो आन्दोलनलाई अझ सशक्त बनाउन उसले देशभरका सबै शिक्षक-कर्मचारीलाई काठमाडौँ आउन आह्वान पनि गरेको छ।

शनिबार शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन। महासंघका अध्यक्ष सुवेदीले सरकार पक्षसँग अनौपचारिक छलफल जारी रहे पनि त्यो अझै निष्कर्ष-उन्मुख नरहेकाले आन्दोलन जारी राखिएको जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार