• ट्रेण्डिङ :

३ वर्ष कैद सजाय तोकिएको फरार प्रतिवादी शेषराज पहाडी काठमाडौंबाट पक्राउ

३ वर्ष कैद सजाय तोकिएको फरार प्रतिवादी शेषराज पहाडी काठमाडौंबाट पक्राउ

cnewsnepal

बुधबार, जेष्ठ ७ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


७ जेठ,सिन्धुली । सवारी दुर्घटनामा दोषी ठहर भई ३ वर्ष कैद सजाय तोकिएको फरार प्रतिवादी शेषराज पहाडीलाई प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पहाडीलाई   ६ गते विहान ७:३० बजे पक्राउ गरी सोही दिन साँझ हिरासतमा राखिएको थियो। उनलाई आज सिन्धुली  जिल्ला अदालतमा पेश गरिएको छ।

२०७९ साल चैत २ गते तीनपाटन गाउँपालिका–२ स्थित भिमस्थान गैहि सडकखण्डमा पहाडीले चलाएको बोलेरो पिकअपले मोटरसाइकलमा सवार तेज बहादुर सिंजाली मगरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। हालसम्म कोमामा रहेका घाइतेको उपचार खर्चसमेत नदिएको भन्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए।
उक्त घटनामा दोषी ठहर गर्दै २०८१ साल असार १९ गते सिन्धुली जिल्ला अदालतले पहाडीलाई ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। फैसला पछि फरार रहेका पहाडीलाई पक्राउ गर्न प्रहरीले तदारुकता देखाएको हो।

प्रवक्ता डीएसपी सूर्य प्रकाश सुवेदीले भने, “पीडितको अवस्था गम्भीर रहेको, उसले अझै न्याय र उपचार खर्च पाउन नसकेको भन्दै सार्वजनिक चासो बढेको थियो। कार्यालयले तत्काल अनुसन्धान र खोजतलासको गति बढाएर प्रतिवादी पहाडीलाई काठमाडौंबाट पक्राउ गर्न सफल भएको हो। यस घटनाले कानूनको कार्यान्वयन र पीडितको पक्षमा प्रहरी प्रतिबद्ध रहेको देखाउँछ।”

पक्राउ परेका पहाडी सिन्धुली जिल्ला, हाल तीनपाटन गाउँपालिका–९ निवासी हुन्। घटनासँग सम्बन्धित क्षतिपूर्ति तथा उपचार खर्चसम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा हाल पनि विचाराधीन अवस्थामा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार