१७ मंसिर, धनुषा । नेपाली काँग्रेस प्रदेश २ को सभापति पदमा दुई जनाले दावेदारी पेश गरेका छन् ।
नेपाली काँग्रेस रौतहट जिल्लाका सभापति कृष्णप्रसाद यादवले र प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
रौतहटका जिल्ला सभापति समेत रहेका कृष्णप्रसाद यादवले शुक्रवार जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गर्दै देउवा समुहबाट आफु उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले शेरबहादुर देउवाको समुहबाट आफु सर्वसम्मत रुपमा उम्मेदवारी दिन लागेको पनि प्रष्ट पारे ।
पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश २ को सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । दललाई प्रदेश २ मा थप मजबुत बनाउने र संगठन बिस्तार तथा सुदृढीकरणको लक्ष्यका साथ सभापति पदमा उम्मेदवारी दिन लागेको यादवले बताए । यादवले आफूले प्रदेश सभापति पदमा जितेमा प्रदेश २ मा काँग्रेसलाई पहिलो नम्बरको दल बनाउने प्रतिबद्धता व्यक्त गरे ।
यसअघिका प्रदेश सभापति पदमा आकांक्षा देखाएका महोत्तरी जिल्लाका सभापति महेन्द्र राय र सप्तरी जिल्ला सभापति दिनेश यादवले देउवा गुटका उम्मेदवार यादवलाई समर्थन जनाएका छन् । ति दुबै आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि कृष्ण यादवको अवस्था बलियो देखिएको छ ।
धनुषा जिल्ला सभापति महेशशंकर गिरी बाहेकका जिल्लाका सभापति कृष्ण यादवलाई नै समर्थन गर्ने बुझिएको छ ।
प्रदेश २ मा तोकिएका मितिमा भएन अधिवेशन
नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशन अन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिबारका लागि तोकिएको अधिवेशन पनि स्थगित भएको छ।
प्रदेशका २ का ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सात वटा निर्वाचन क्षेत्रका अधिवेशन प्रतिनिधिहरूको नामावाली प्राप्त नहुँदा शनिबार पनि अविधेशन स्थगित गरेको निर्वाचन समिति सदस्य अरुण यादवले बताए।
सर्लाहीका चार वटै निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ को ख, सप्तरी निर्वाचन क्षेत्र नम्बर ४, र रौतहट क्षेत्र निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिहरूको नामावाली आउन सकेको छैन।