राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले नेपालमा मागेर देश विकास गर्ने दास प्रवृत्तिको विकास भएको बताएका छन् ।
एम.सी.सी. को विरुद्धमा आठ राजनीतिक दलको आयोजनामा २०७८ फागुन १८ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो पार्टीको धारणा राख्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
‘मागेर देश विकास गर्ने दास प्रवृत्तिको विकास भइरहेको छ’ उनले अगाडि भने– ‘हामी साम्राज्यवादीहरूसित मागेर होइन, आत्मनिर्भर विकासको पक्षमा लाग्नुपर्दछ ।’
उनले देश विकासको नाममा माग्ने प्रवृत्ति विकास हुँदा देशको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, असंलग्न परराष्ट्र नीति र देशको बृहत्तर हित ओझेलमा पर्दै गइरहेको बताए।
फागुन १५ गते संसद्बाट षड्यन्त्रमूलक ढङ्गले एम.सी.सी. पारित भएको प्रसङ्ग उठाउँदै उहाँले राष्ट्रिय जनमोर्चा गठबन्धन छोडेर जनआन्दोलनमा आएको बताए ।
सम्बोधनको क्रममा उहाँले एम.सी.सी. अहिलेसम्मकै सबैभन्दा बढी राष्ट्रघाती सम्झौता भएको दाबी गरे।
‘एम.सी.सी. महाकाली सन्धि जस्तो सम्झौता होइन’ उनले अगाडि भने– ‘यो त अमेरिकाको नेपालमाथि लादिएको रणनीतिक सम्झौता हो ।’

उनले त्यसलाई खारेज गर्नका लागि आफ्नो पार्टीको तर्फबाट सशक्त आन्दोलन उठाउन प्रयत्न गर्ने पनि बताए ।
कार्यक्रममा सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परि थापाले एम.सी.सी. अमेरिकाले एक हजार वर्षसम्मको आफ्नो स्वार्थलाई ध्यानमा राखेर ल्याएको बताए ।
उनले महाकाली सम्झौतामा सङ्कल्प प्रस्ताव पारित गरे जस्तै अहिले एम.सी.सी. सँग पारित गरिएको व्याख्यात्मक टिप्पणी पनि नौटङ्की भएको बताए ।
उनले फागुन १५ गते संसद्मा एम.सी.सी पारित हुँदै गर्दा प्रमुख प्रतिपक्षी दलले जात्रा देखाएको टिप्पणी गरे ।
‘संसद्मा एम.सी.सी. पारित हुँदै थियो’ उनले भने– ‘त्यसलाई रोक्नुको सट्टा एमालेले न समर्थन, न विरोध गर्ने जात्रा देखायो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेपालमा एम.सी.सी. को विरुद्धमा अहिलेसम्मकै अभूतपूर्व जागरण उत्पन्न भएको दाबी गरे ।
एम.सी.सी. पारित हुँदा नेपाली जनताको स्वविवेकीय अधिकार गुमेको उनको भनाइ थियो ।
‘अहिलेको युग साम्राज्यवादी युग होइन, बरु विश्वका उत्पीडित जनताको युग हो’ उहाँले भन्नुभयो– ‘नेपाली जनताको राष्ट्रियताको आन्दोलन पनि उत्कर्षतर्फ जाँदै छ ।’
उनले अगाडि भने– ‘एम.सी.सी. पारित गर्नेहरूले दिपावली गरिरहेका छन् । हामीले तिनीहरूका विरुद्ध सङ्घर्ष गर्नुपर्दछ ।’
कार्यक्रममा नेकपा (माओवादी केन्द्र समाजवादी) का अध्यक्ष कर्णजीत बुढाथोकीले २०७८ फागुन १५ गतेलाई राष्ट्रिय गद्दारीको दिन घोषणा गर्नुपर्ने बताए।
उनले चार दलले राष्ट्रिय गद्दारी गरेकाले त्यसका विरुद्धको आन्दोलनलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिए ।
कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, नेपाल कम्युनिस्ट पार्टी विप्लव पक्षका चिरन पुन र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका राजकुमार हिङमाङको पनि आतिथ्य रहेको थियो ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जागृत रायमाझीको उद्घोषणमा अगाडि बढेको सो पत्रकार सम्मेलनमा फागुन १७ गतेको
बैठकद्वारा निर्णय गरिएको प्रेसविज्ञप्ति ऋषि कट्टेल नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य कृष्णहरि भट्टले वाचन गर्नुभएको थियो ।
प्रेसविज्ञप्तिमा एम.सी.सी. का विरुद्ध फागुन २० देखि चैत ६ गतेसम्मको आन्दोलनको कार्यक्रम उल्लेख गरिएको छ ।