सोलुखुम्बुमा खाली गराइयो प्रहरी चौकी

२० जेठ, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सोलुखुम्बुको विकट क्षेत्र महाकुलुङ गाउँपालिका–३ आक्रमणको तयारी भईरहेको सुचना पाएछि प्रहरी चौकी खाली गरेको छ ।

जिल्लाको महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेको स्रोतले बतायो ।
तर, त्यसबारे अग्रिम सूचना पाएपछि प्रहरी टोली आइतबार दिउँसै अन्यत्र भागिसकेको स्रोतको दाबी छ । विप्लव कार्यकर्ताको ठूलो समूह आइतबार मध्यराति प्रहरी चौकीमा आक्रमण गर्न पुगेको थियो।

तर, त्यसबेलासम्ममा त्यहाँका प्रहरीलाई सुरक्षित स्थान सारिसकिएको थियो। हातहतियार तथा प्रहरी नभएको चौकीमा पुगेर विप्लव कार्यकर्ता फर्केको प्रहरीले जनाएको छ।

अनुसन्धानका लागि काठमाडौंबाट समेत सुरक्षाकर्मीको टोली पठाइएको छ ।जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शालिकराम शर्माको नेतृत्वको टोली छेस्का पुगिसकेको छ। छेस्का सदरमुकाम सल्लेरीबाट ७५ किलोमिटर टाढा छ।प्रहरी चौकी भएको स्थानमा विद्युत र दुरसञ्चार सेवा अबरुद्ध छ ।