• ट्रेण्डिङ :

प्यालेस्टाइन र नेपालको पीडा उस्तै उस्तै : भट्ट (फोटासहित)

प्यालेस्टाइन र नेपालको पीडा उस्तै उस्तै : भट्ट (फोटासहित)

cnewsnepal

सोमबार, कार्तिक २० २०८०
पढ्न लाग्ने समय: < ५ मिनेट


राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्यालेस्टाइन र नेपालको पीडा उस्तै उस्तै भएको दाबी गर्नुभएको छ ।

राजमो काठमाडौँको आयोजनामा २०८० कात्तिक २० गते सोमबार आयोजित विरोध कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

‘प्यालेस्टाइन र नेपालको पीडा उस्तै उस्तै छ’ उहाँले भन्नुभयो– ‘प्यालेस्टाइनी जनता आफ्नो देशको स्वाधीनताका लागि लडिरहेका छन्, हामी पनि हाम्रो देशको स्वाधीनताका लागि लडिरहेका छौँ ।’

महासचिव भट्टले कालापानी, सीमा अतिक्रमणलगायतका विरुद्ध नेपाली जनताले भारतीय साम्राज्यवादका विरुद्ध लडिरहेको प्रसङ्ग जोड्नुभयो ।

उहाँले उस्तै उस्तै पीडा भएकाले प्यालेस्टाइनी जनतासँग नेपाली जनतासँग भाइचारा सम्बन्ध रहेको उहाँले बताउनुभयो ।

‘हामी दुवै देशका जनता साम्राज्यवादको विरुद्ध लडिरहेको हुनाले हाम्रामाझमा भाइचारा सम्बन्ध कायम भएको छ’ उहाँले किटानीसाथ भन्नुभयो ।

प्यालेस्टाइनको इतिहास खोतल्दै उहाँले सन् १९४७ सम्म विश्व मानचित्रमा इजरायल नरहेको स्मरण गराउनुभयो ।

‘सन् १९४७ सम्म विश्व मानचित्रमा इजरायल नामको देश नै थिएन’ उहाँले भन्नुभयो– ‘दोस्रो विश्वयुद्धमा लडेका यहुदीलाई अलग्गै देश दिने वाचाअनुसार बेलायती साम्राज्यवादले प्यालेस्टानी भूभागमै इजरायललाई बसाएको थियो ।’

अहिलेको इजरायल नै पहिलेको प्यालेस्टाइनी भूमि भएकाले प्यालेस्टाइनी जनताद्वारा आफ्नो भूमिका लागि सङ्घर्ष गर्नु जायज भएको तर्क उहाँले गर्नुभयो ।

‘जसरी हामीले कालापानी फिर्ता गर्नका लागि निरन्तर आवाज उठाइरहेका छौँ’ महासचिव भट्टले भन्नुभयो– ‘त्यसै गरी प्यालेस्टाइनी जनताले आफ्नो मातृभूमि फिर्ता ल्याउनका लागि सङ्घर्ष गर्नु जायज छ ।’

यसै सन्दर्भमा नेता भट्टले हमास र त्यसले अपनाएको सङ्घर्षको रूपप्रति आफूहरूको विमती रहेको पनि प्रष्ट्याउनुभयो ।

‘हमास प्यालेस्टानी जनताको मुक्ति आन्दोलनको सही प्रतिनिधि होइन, हामी यसमा प्रष्ट छौँ’ उहाँको भनाइ थियो– ‘तर जसरी अमेरिकी साम्राज्यवादको समर्थनमा इजरायलले प्यालेस्टाइनमाथि बर्बर आक्रमण गरिरहेको छ, त्यही लामो समयसम्मको दमनको परिणाम हमासको उत्पत्ति हो ।’

महासचिव भट्टले हमास इस्लामिक कट्टरपन्थी सङ्गठन भएको बताउनुभयो ।

उहाँले हमासले गरेको आक्रमणको बहानामा प्यालेस्टाइनी जनताप्रति बर्बर आक्रमण गर्नु कुनै पनि प्रकारले सही नहुने बताउँदै त्यसलाई समर्थन गर्न नसकिने पनि स्पष्ट पार्नुभयो ।

राजमो नेता भट्टले भन्नुभयो– ‘हमासले गरेको आक्रमण एउटा बहाना हो । इजरायलले त सन् १९४७ देखि नै प्यालेस्टानी भूमि कब्जा गरिरहेको छ । त्यसका लागि युद्ध चलाइरहेको छ ।’

सम्बोधनको क्रममा उहाँले अमेरिकी साम्राज्यवादको समर्थनमा इजरायलले प्यालेस्टाइनमा मानवअधिकारको उल्लङ्घन गरिरहेको बताउनुभयो ।

‘युद्धका पनि आफ्नै नियम हुन्छन्, केही नैतिकता हुन्छन्’ उहाँले भन्नुभयो– ‘यतिखेर प्यालेस्टाइनी जनता पानी खान नपाएर मरिरहेका छन् ।

अस्पतालमा समेत आक्रमण भएको छ । उनीहरू औषधी र चिकित्साबाट वञ्चित छन् । उनीहरू कैयौँ दिनदेखि भोकै बसिरहेका छन् । विद्युत् र सञ्चार सम्पर्क विच्छेद गरिएको छ । यस्तो क्रियाकलाप स्वयम् युद्धको नियमसमेत विरुद्ध छ ।’

उहाँले इजरायलको यस खालको बर्बर आक्रमण भत्र्सनायोग्य भएको बताउँदै प्यालेस्टाइनी जनताको मानवअधिकारको पक्षमा विश्वभरि नै आवाज उठाउनु आजको आवश्यकता बनेको बताउनुभयो ।

‘आज जसरी प्यालेस्टाइनी जनताले बाँच्न पाउने मानवअधिकारको उपभोग गर्न पाइरहेका छैनन्, उक्त मानवअधिकारको पक्षमा विश्वभरि आवाज उठ्नु आवश्यक छ । राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल) ले यस्तो आवाज उठाइरहने छ ।’

इजरायल प्यालेस्टाइन भूमि नै : विश्वकर्मा

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता राजमो केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्माले अहिलेको इजरायल प्यालेस्टाइनी भूमि नै भएको दाबी गर्नुभयो ।

‘अहिले जसलाई अमेरिकाले इजरायली भूमि बताइरहेको छ, त्यो प्यालेस्टाइनी भूमि नै हो’ उहाँले भन्नुभयो ।

दोस्रो विश्वयुद्धमा हिटलरको फासिवादबाट बच्च देश छोडेकाहरू प्यालेस्टाइनमा गएर बसेको बताउँदै उहाँले अमेरिकी साम्राज्यवाद र बेलायती साम्राज्यवादले तिनैका लागि प्यालेस्टाइनी जनतालाई लखेटेर एक्कासि इजरायल देश खडा गरेको बताउनुभयो ।

‘सन् १९४७ भन्दा अगाडि प्यालेस्टाइनमा आठ प्रतिशत इजरायली थिए, ९२ प्रतिशत प्यालेस्टाइनी जनता थिए’ उहाँले भन्नुभयो– ‘अहिले त्यही भूमिमा प्यालेस्टाइनी जनता १० प्रतिशत छन्, इजरायली ९० प्रतिशत छन् ।’

इजरायललाई अमेरिकाले सहयोग गरिरहेको प्रसङ्ग जोड्दै सांसद विश्वकर्माले नेपालमा पनि एमसिसी मात्र प्यालेस्टाइन बनाउन खोजिएको तथ्य अगाडि सार्नुभयो ।

‘एमसिसी नेपालको भौतिक विकासका लागि आएको होइन भन्ने त सबैलाई थाहा छ’ उहाँले भन्नुभयो– ‘भोलि नेपालमा पनि अमेरिकाले प्यालेस्टाइनमा जस्तै बर्बर युद्ध मच्याउन सक्छ ।’

उहाँले अमेरिकी साम्राज्यवादको युद्धपिपासु चरित्रको विरोध गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

सांसद विश्वकर्माले भन्नुभयो– ‘प्यालेस्टाइनमा जसरी अमेरिकी साम्राज्यवादको सहायतामा इजरायलले युद्धको ताण्डवनृत्य मच्याइरहेको छ, त्यसको विरुद्ध विश्वव्यापी रूपमा आवाज उठाउनुपर्दछ ।’

 

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका काठमाडौँ जिल्ला अध्यक्ष झविन्द्र बेलबासे र नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीले पनि सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन राजमो काठमाडौँका भक्त विश्वकर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार