महेन्द्रनगर । गणतन्त्र विरुद्ध आन्दोलन थालेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताले कन्चनपुरमा सहिद भीमदत्त पन्तको शालिक तोडफोड गरेका छन् ।
भीमदत्त नगरपालिका-१८ स्थित महेन्द्रनगर बजारको बीचमा रहेको भीम बाटिकामा प्रदर्शन गर्दै उनीहरुले शालिक तोडफोड गर्नुका साथै प्रवेशद्वारमा रहेको नाम पनि मेटाएका छन् ।
राजसंस्था पुनःस्थापना अभिययानका लागि राप्रपाले गरेको प्रदर्शनका क्रममा पन्तको शालिक तोडफोड गरिएको हो । प्रहरीले शालिक तोडफोड भएपछि दुई राउण्ड हवाई फायर प्रहार गरी भीडलाई तितरवितर गरेको थियो ।शालिक तोडफोडमा संलग्न १८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच ‘अमर सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठान’ ले एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व गरेको एक अराजक समूहले कन्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको क्रान्ति योद्धा सहिद भीमदत्त पन्तको शालिक र भीमवाटिकामा तोडफोड गरेको भन्दै आपत्ति जनाएको छ ।

‘सहिद पन्तले सुदूरपश्चिमी किल्लाबाट राणा शासनको अन्त्यका लागि भएको राजनीतिक परिवर्तनमा ऐतिहासिक योगदान गरेका, कृषि क्रान्तिद्वारा आमूल परिवर्तनका निम्ति अविचलित क्रान्तिकारी योद्धा, दिल्ली सम्झौता लगायत वैदेशिक हस्तक्षेपका विरुद्ध देशका लागि जीवन उत्सर्ग गर्ने, ती महान् योद्धा शहिद भीमदत्त पन्तको भीमदत्त नगरपालिका १८ स्थित, स्थानीय पार्क भीम बाटिकाभित्रको शालिक देशद्रोही, प्रतिगामी एवम् पुनरुत्थानवादी तत्वद्वारा आज दिउँसो १ः३०बजेको समयमा तोडफोड गरेको प्रति प्रतिष्ठान् घोर भर्त्सना तथा निन्दा प्रकट गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तो अराजक तथा समाज विरोधी गतिविधि गर्ने संस्थाका नेतृत्वकर्ता र व्यक्तिहरुलाई तत्काल पक्राउ गरि कडा कारबाही गर्न स्थानीय सरकार र स्थानीय प्रशासनसँग प्रतिष्ठानले जोडदार माग गरेको छ ।
यसैबीच भीमदत्त पन्तको शालिक तोडफोड भएपछि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीसित स्थानीय अगुवाले छलफल गरेका छन् ।
प्रमुख जिल्ला अधिकारीसितको छलफलमा प्रहरी उपरीक्षक कमल थापाले शालिक तोडफोडमा संलग्न सबैलाई पक्राउ गरी कारवाही गरिने प्रतिवद्धता जनाएको भीम वाटिका संरक्षण समितिका अध्यक्ष प्रशान्त भट्टले बताए ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त