• ट्रेण्डिङ :

प्रतिगामी खतरा विरुद्ध राजमोद्वारा सम्पूर्ण जनताको ध्यानाकर्षण

प्रतिगामी खतरा विरुद्ध राजमोद्वारा सम्पूर्ण जनताको ध्यानाकर्षण

cnewsnepal

बुधबार, मंसिर १३ २०८०
पढ्न लाग्ने समय: < ३ मिनेट


काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रतिगामी खतराका विरुद्ध सम्पूर्ण नेपाली जनताको ध्यान आकर्षित गराएको छ ।

मङ्सिर ७ गतेयता प्रतिगामी शक्तिहरूको चलखेल बढेको भन्दै राजमोले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षधर सम्पूर्ण जनतासित यस्तो अपिल गरेको हो ।

अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० मङ्सिर १२ गते मङ्गलबार जारी प्रेसवक्तव्यमा यस्तो आह्वान गरिएको छ ।

कुशासन र भ्रष्टाचारले गर्दा देशले अग्रगति लिन नसकिरहेको तथ्य स्मरण गर्दै राजमोले त्यसको विकल्प प्रतिगमन हुन नसक्ने राजमोले प्रष्ट पारेको छ । राजमोको भनाइ छ– प्रतिगामी शक्तिहरूलाई देशलाई अँध्यारो युगतिर फर्काउने छन् ।

यस्तो छ, प्रेसवक्तव्य को पूर्ण पाठ :

“अहिले देशमा भइरहेका प्रतिगामी चलखेल र गतिविधिप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ ।

काठमाडौँ लगायत देशका विभिन्न स्थानमा प्रतिगामीहरूले गरिरहेका गतिविधि देशमा लोकतन्त्र, गणतन्त्र तथा धर्मनिरपेक्षताका विरुद्ध लक्षित रहेका छन् । उनीहरूले जनआन्दोलन तथा जनताको महान् बलिदानद्वारा प्राप्त उपलब्धिलाई समाप्त गरेर देशमा प्रतिगमन ल्याउन लगातार अभियान चलाउँदै आएका छन् । मङ्सिर ७ गतेपछि देशमा भइरहेका राजावादीका विभिन्न गतिविधिले देशमा प्रतिगमनका लागि प्रयत्न भइरहेको कुराको नै पुष्टि गर्दछन् । गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि प्रतिगामीले चलाइरहेको त्यस प्रकारको अभियानलाई भारतको कट्टरपन्थी हिन्दुवादी शासकवर्गले पनि प्रोत्साहित गर्दै आएको छ ।

हाम्रो पार्टीले गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रतिगामीद्वारा गम्भीर खतरा रहेको कुरा बारम्बार स्पष्ट गर्दै आएको छ । राजावादीले अहिले देशमा गरिरहेका गतिविधिले देशमा प्रतिगमनको खतरा बढिरहेको कुरालाई थप पुष्टि गर्दछ । यो अवस्थामा हाम्रो पार्टीले प्रतिगमनका विरुद्धमा एकताबद्ध हुनका लागि सम्पूर्ण लोकतन्त्रवादी तथा वामपन्थी शक्तिको ध्यान आकर्षित गर्दछ । नेपालको सामाजिक तथा राजनीतिक परिवर्तनका लागि भूमिका खेलेका लोकतान्त्रिक तथा वामपन्थी शक्तिले नै त्यस प्रकारका प्रतिगामी प्रयत्नलाई पराजित गरेर लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको समेत रक्षा हुने छ भन्ने हामीलाई पूरा विश्वास छ ।

कुशासन र भ्रष्टाचारले गर्दा देशले अग्रगति लिन नसकिरहेको पक्षप्रति पनि हाम्रो ध्यान रहेको छ । अहिले देशमा कुशासन र भ्रष्टाचारले गर्दा जनताको जीवनस्तरमा धेरै नै गिरावट आएको छ । देशको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको छ र बेरोजगारको अवस्था गम्भीर छ । त्यसले गर्दा जनतामा निराशा र असन्तोष बढ्न गएको छ तर त्यसको समाधानको उपाय कुशासन र भ्रष्टाचारको अन्त्य गरी सुशासन र सुदृढ गणतान्त्रिक व्यवस्थाबाट नै सम्भव हुन्छ ।

गणतन्त्र र धर्मनिरपेक्षतालाई चुनौती दिने वा त्यसका विरुद्धमा उभिने शक्तिहरू कुनै पनि अवस्थामा समस्याको समाधान गर्ने विकल्प हुन सक्दैनन् । प्रतिगामी शक्तिले जनतामा बढ्दै गइरहेको असन्तोषको फाइदा उठाएर जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त मात्र गर्ने छन् र देशलाई अँध्यारो युगतिर फर्काउने छन् । त्यसरी देश अधोगति, विनाश र निरङ्कुशतातिर जाने कुरा निश्चित छ । त्यो अवस्थामा प्रतिगामीका प्रतिगमनको प्रयत्नलाई पूर्ण रूपले असफल पारेर जनआन्दोलनका उपलब्धिको रक्षा गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले सम्पूर्ण न्यायप्रेमी जनताको ध्यान आकर्षित गर्दछ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार