• ट्रेण्डिङ :

विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश : प्रधानमन्त्री

विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश : प्रधानमन्त्री

cnewsnepal

शनिबार, फाल्गुन १२ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


सर्लाही, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताएका छन् ।

बागमती नगरपालिकाले आज सर्लाहीको कर्मैयामा आयोजना गरेको ‘सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम’ लाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको विविधतालाई एकताबद्ध बनाउनुपर्ने बताएका हुन् ।

“विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश हो,” प्रधानमन्त्री प्रचण्डले भने , “सबै जातजाति र भाषाभाषीलाई सम्मान गरेर मात्र राष्ट्रिय एकता कामयम गर्न सकिन्छ ।” उनले नेपालका सबै क्षेत्र, जातजाति र भाषाभाषी एकताबद्ध हुँदा नै देशको राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले विविधतामा एकता हामी नेपालीको विशेषता भएको बताउँदै सबैलाई एकतामा उन्ने र राष्ट्रियता प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका अवसरमा नयाँ सन्देश दिने उद्देश्यका सबै अभिभावक एवं विद्यार्थीले सिर्जनात्मक प्रस्तुति प्रदर्शन गरेको भन्दै उनले शुभकामना व्यक्त गरे।

प्रधानमन्त्री दहालले सुरक्षाकर्मीहरूलाई धन्यवाद व्यक्त गर्दै,जिल्ला काे शान्ति सुरक्षा अमनचयन कायम गर्दै जिल्लालाई सव्य र भय रहित बनाउन निर्देशन समेत दिए ।

कार्यक्रमका अवसरमा सार्वजनिक शिक्षाको सुधारसम्बन्धी पुस्तक लोकार्पण गरे ।

‘शिक्षा, स्वास्थ्य र रोजगार, त्यसैका लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजक नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा सात वटै प्रदेशको सांस्कृतिक एवं भौगोलिक विविधता र पहिचान झल्किने गीत, नृत्य र संगीतको प्रस्तुति गरिएको थियो । विभिन्न वडाहरूबाट ‘हामी सुधार्छौँ हाम्रो विद्यालय, ‘‘सामुदायिक विद्यालय सुधार्ने हाम्रो जिम्मेवारी भन्ने नारासहित आ–आफ्नो भेषभुषामा अभिभावकहरूको झाँकी प्रस्तुत गरिएको थियो ।

यो कार्यक्रम सामुदायिक विद्यालयको सवलीकरण तथा रूपान्तरणका लागि देशकै नमुना कार्यक्रम हुने र सामुदायिक विद्यालय सुधारका लागि सामाजिक आन्दोलन हुने आयोजकको विश्वास गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार