• ट्रेण्डिङ :

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्न, विपक्षमा भोट हाल्छ : केसी

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्न, विपक्षमा भोट हाल्छ : केसी

cnewsnepal

बुधबार, फाल्गुन ३० २०८०
पढ्न लाग्ने समय: < ३ मिनेट


काठमाडौं । राष्ट्रिय जनमोर्चाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने स्पष्ट पारेको छ ।

प्रधानमन्त्री दाहालप्रचण्डले आज (३० फागुन) प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बरु विपक्षमा भोट हाल्ने बताउनुभएको छ ।

युगदर्शनसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष केसीले प्रधानमन्त्रीले केपी ओलीको प्रतिगामी कदमलाई साथ दिएकोले उनलाई आफ्ेनो पार्टीले समर्थन गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

‘प्रधानमन्त्रीले एक वर्षमै दुईपटक क्याम्प चेन्ज गर्नुभयो । यसले ओलीको प्रतिगामी कदमलाई झन् मद्दत मिलेको छ’ केसीले भन्नुभयो, ‘प्रतिगमन सच्चिएको छैन, झन् बलियो बनेको छ । ओलीले एक सिट भएको राप्रपासँग गठबन्धन बनाएर १४ सिटमा पुर्याएका छन् । उनीहरुको प्रतिगामी कदमलाई साथ दिने कुरा हुँदैन ।’

पूर्वगठबन्धनको विघटनले प्रतिगमन झन् बलियो बनेको उहाँको निष्कर्ष छ ।

अध्यक्ष केसीले पुष्पकमल दाहालको पछिल्लो गतिविधिका कारण देशको लोकतन्त्रसँगै राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथिसमेत थप खतरा बढेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए।

प्रचण्डले पहिलोपटक प्रतिनिधिसभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गरेका थिए । संसदमा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए ।

राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरियो । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए । सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए । सो दिन प्रतिनिधिसभामा भएको मतदानमा उनले एक सय ७२ मत प्राप्त गरेका थिए । उनको विपक्षमा ८९ मत परेको थियो ।

यही फागुन २१ गते गठबन्धन परिवर्तन भएपछि साविकको सत्ता सहयात्री नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ । सो दलले विश्वासको मत फिर्ता लिएको छ ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)सहितको पाँच दलले नयाँ गठबन्धन बनाएका छन् ।

प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ मत आवश्यक पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार