अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले केही अनधिकृत संस्था वा व्यक्तिले किर्ते हस्ताक्षर गरेर नगरपालिकामाथि नै प्रहार गरेको बताएका छन् ।
नगरपालिकाले २०८० चैत ५ गते सोमबार पालिकाको सभाहलमा आयोजना पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख थापाले सो कुरा बताएका हुन।
पालिकाको वडा नम्बर ९ ढिकुराको सानोडेभाको चुनढुङ्गा खानीका सन्दर्भमा भूमिकास्थानले चुनढुङ्गा उत्खनन्का लागि विजया सिमेन्टलाई सिफारिसपत्र उपलब्ध गराएको भनी नगरपालिकाबाट जारी भएको भनी नगरप्रमुख झबिलाल थापाको कीर्ते हस्ताक्षर र कागजात तयार गरी सामाजिक सञ्जालमा गलत प्रचारप्रसार भएको विषयमा सो पत्रकार सम्मेलन गरिएको थियो ।
नगरप्रमुख थापाले उक्त स्थानमा चुनढुङ्गाको उत्खनन् गर्नै नहुने भनी कार्यपालिका बैठकले निर्णय गर्दा पनि उत्खनन् हुने स्थानसम्मको लागि बाटो खन्ने कार्य गर्नु कानुन र नीतिलाई नटेरेको ठहरिने भन्दै उहाँले आफू कुनै पनि हालतमा उत्खनन् गर्न दिने पक्षमा नभएको बताउनुभयो ।
कीर्ते हस्ताक्षर र कागजात तयार गरी सरकारी कागजातको दुरुपयोग गर्ने सम्बन्धित व्यक्ति वा संस्थालाई कानुनी कारबाहीको दायरामा ल्याई कारबाही गर्ने र कीर्ते सिफारिसमार्फत विजया सिमेन्टले प्राप्त गरेको चुनढुङ्गा उत्खनन् अनुमतिपत्र पूर्ण रूपले खारेज गरी भूमिकास्थान नगरपालिकालाई जानकारी उपलब्ध गराउन भनी खानी तथा भूगर्भ विभागलाई पत्रचार समेत गरेको नगरप्रमुख थापाले बताए ।


