रामेछाप सेवा समाज दोहा कतारले रामेछापका अग्नि पीडितलाई आर्थिक सहयोग गरेको छ ।
केही दिन अगाडि रामेछाप जिल्लाको रामेछाप नगरपालिका–९ मा भीषण आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका थिए । आगलागीबाट घरबाससहित खोसिएका पीडितलाई प्रवासमा रहेका नेपालीले सहयोग पठाएका हुन् ।
रामेछाप जिल्लाबाट कतारलाई कर्मभूमी बनाएका रामेछापबासीले सो सहयोग संकलन गरेका थिए ।

संकलित रकम समाजका अध्यक्ष नरबहादुर तमाङ्ग र निवर्तमान सचिव निर्मल नेवाखड्गीले रामेछाप नगरपालिका वडा नं ९ का अध्यक्षको रोहबरमा पीडितलाई हस्तान्तरण गर्नुभयो ।
रामेछाप सेवा समाज सन् २००४ देखि नै विभिन्न सामाजिक काममा सरिक हुँदै आएको छ । आगलागी तथा बाढीपहिरोबाट पीडित एवम् जटिल रोगबाट ग्रस्त भइ उपचार नपाएका नेपालीलाई समाजले सहयोग गर्दै आएको छ ।
