सरकारले कर्मचारीलाई दुःख दिन खोज्यो : सभापति देउवा

अच्युत रेग्मी
१३ असार /काठमाडौँ,  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीलाई दुःख दिन खोजेको बताएका छन् ।
स्थानीय तह कर्मचारी युनियन नेपालद्धारा आज यहाँ आयोजित ‘प्रथम राष्ट्रिय भेला एवं कार्यशाला गोष्ठी’मा उनले वर्तमान सरकारले राजनीतिक विचार र आस्थाका आधारमा कर्मचारीको सरुवा र बढुवा गरेको बताएका हुन । “कर्मचारी स्थायी सरकार हो, राजनीति विचार र आस्थाभन्दा पनि कामका आधारमा सरुवा बढुवा गर्नुपर्छ,”–उनले भने ।
उनले जनताको काममा बढी आवतजावत हुने क्षेत्र स्थानीय सरकार भएकाले जनतालाई राम्रो व्यवहार गर्न कर्मचारीलाई आग्रह समेत गर्नुभयो । जनताको जनताको काम गरेर पार्टीलाई बलियो बनाउन स्थानीय कर्मचारी युनियनको महत्वपूर्ण भूमिका रहेको उनको भनाई छ ।
सभापति देउवाले वर्तमान सरकारले लोकतन्त्रको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रता, मानव अधिकारलाई खोस्न खोजेको बताउँदै मानव अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा काँग्रेसले संसद र सडकमा आन्दोलन गर्ने बताए । “जनताको अधिकारका लागि राणा र राजा फालेको काँग्रेसले लोकतन्त्रमाथि प्रहार गरे कम्युनिष्ट सरकार पनि फाल्छौँ,”–सभापति देउवाले भने ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानअनुसार निर्माण भएको संघीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहमा कार्यरत कर्मचारीको महत्वपूर्ण भूमिकका रहेको बताए । “संघीयतालाई साकार बनाउने जिम्मा स्थानीय तहका कर्मचारीको हो, स्थानीय तहका कर्मचारीले जनताको पक्षमा काम गर्नुपर्छ,”–उनले भने ।
नेता पौडेलले स्थानीय तहमा निजामति कर्मचारी र स्थानीय तहले भर्ना गरेका दुईखाले कर्मचारी राखेर सरकारले कर्मचारीलाई विभेद गर्न खोजेको बताए । सरकारलाई व्यवस्था र परिवर्तनप्रति चिन्ता नभएको उनको भनाई छ । नेता पौडेलले सरकारले लामो समयको सङ्घर्षपछि ल्याएको परिवर्तनलाई सङ्कटमा पार्न खोजेको भन्दै काँग्रेस काँग्रेसलाई सत्ताको भन्दापनि व्यवस्था जोगाउने चिन्ता रहेको बताए ।
काँग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाई जनमत पाएको शक्तिशाली सरकारले कर्मचारी समायोजनको विषयमा ढिलासुस्ती गरिरहेको बताए ।
“दुईतिहाइको आडमा सरकारले सङ्घीयता कार्यान्वयनमा आलटाल गरिरहेको छ,”–उनले भने । सङ्घीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सरकारले आवश्यक कानुन बनाउन नसकेको उनको भनाई छ । नेता सिंहले वर्तमान सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको बताए ।
नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुस्कर आचार्यले नेपाली काँग्रेसले पनि स्थानीइ तहमा तत्काल संगठन निर्माण गरेर अगाडि बढ्नुपर्ने बताए । “पार्टीको संगठन बलियो बनाउन पार्टीको स्थानीय संगठन र स्थानीय कर्मचारी एकजुट भएर अगाडि बढ्नुपर्छ,”–उनले भने ।
नेपाल निजामती कर्मचारी युनियन (संघ)का अध्यक्ष गोपाल पोखरेलले कर्मचारी समायोजनमा कर्मचारीको मनोवल उच्च हुने खालको काम सरकारले गर्न नसकेको बताए ।
स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, नेपाल ट्रेड युनियन काँग्रेसका पूर्व अध्यक्ष खिलानाथ दाहाल, काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले कर्मचारीको हक अधिकारलाई कुण्ठित गर्ने गरी कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको बताएका थियो ।
स्थानीय तहमा कार्यरत कर्मचारीले ऐन र कानूनविपरीतको काम नगर्नेसमेत उनीहरुले सुझाव दिएका थिए । आजदेखि शुरु भएको कार्यशाला गोष्ठी दुईदिनसम्म चल्ने युनियनका महासचिव रामप्रसाद पौडेलले जानकारी दिए ।