१२ चैत, क्वालालम्पुर । एएफसी एसियन कप २०२७ छनोट प्रतियोगिता अन्तर्गत हाल मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई गैरआवासीय नेपाली संघ (एन.आर एन ) मलेसिया द्वारा भव्य स्वागत तथा सम्मान गरिएको छ।
एनआरएन मलेसियाका अध्यक्ष राकेश महतो, उपाध्यक्ष नारायण अधिकारी, सदस्य कृष्ण केसी, हरि बहादुर बस्नेत, जोहोर राज्य अध्यक्ष बेदना श्रेष्ठ, उपाध्यक्ष बिन्दु दर्लामी, कोषाध्यक्ष तिलक श्रेष्ठ लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रमले खेलाडीहरूको आत्मविश्वास उच्च बनाएको छ।
कार्यक्रममा नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले यस प्रकारको सम्मानले खेलाडीहरूलाई थप प्रेरित गर्ने बताए। टोली व्यवस्थापक रमेश कार्कीले एनआरएन मलेसियाको परिवारलाई टोली र एन्फाको तर्फबाट विशेष धन्यवाद व्यक्त गरे।
यसैबीच, नेपाली टोलीले आज राति स्थानीय समयअनुसार १० बजे जोहोरस्थित सुल्तान इब्राहिम रंगशालामा मलेसियासँग अवे म्याच खेल्नेछ। नेपाली समर्थकहरू उत्साहित छन् र टोलीले उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ।