• ट्रेण्डिङ :

देशको पहिचान मेटाउन सङ्घीयता ल्याइयो : पौडेल

देशको पहिचान मेटाउन सङ्घीयता ल्याइयो : पौडेल

"चौथो दिनको आन्दोलन"

cnewsnepal

बुधबार, चैत्र २७ २०८१
पढ्न लाग्ने समय: < ३ मिनेट


२७ चैत,काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले देशको पहिचान मेटाउन सङ्घीयता ल्याइएको दाबी गरेकी छन्।

राजधानीको भृकुटीमण्डपमा आयोजित विशाल जनसभामा सम्बोधन गर्दै उनले भन्नुभयो, “हामी नेपाली, हाम्रो देश नेपाल यो हो हाम्रो देशको पहिचान।” पौडेलका अनुसार, सङ्घीयता ल्याउनुको उद्देश्य नेपाली जनताको राष्ट्रिय पहिचान मेट्नु रहेको छ।

उनले सङ्घीयताको खारेजीका लागि भइरहेको आन्दोलनलाई राष्ट्र जोगाउने आन्दोलन भन्दै यसलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याइन्। “सङ्घीयता विरुद्धको आन्दोलनलाई अझ सशक्त बनाएर लैजानुपर्दछ,” उनले भनिन्, “किनकि प्रतिगामीहरूले यसलाई गलत दिशा दिने प्रयास गर्दैछन्।”

पौडेलले गणतन्त्र र राष्ट्रियताको रक्षा गर्न आवश्यक रहेको र सङ्घीयता खारेज गर्न आफूहरू तयार रहेको बताइन्। उनका अनुसार, गणतन्त्रमा रहेका गलत नीतिहरूका कारण असन्तोष फैलिएको र यसको समाधानको लागि सही मार्गनिर्देशनका लागि सक्षम नेताको आवश्यकता छ।

रेग्मी, पुन, खनाल र आलमका मन्तव्य

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मीले प्रत्येक राजनीतिक परिवर्तनपछि प्रतिगामी प्रयासहरू स्वाभाविक रहेको उल्लेख गर्दै यसपटक पनि प्रतिगामीहरूले सङ्घीयता र गणतन्त्र माथि आक्रमण गर्न खोजिरहेको बताए। उनले इतिहासका विभिन्न आन्दोलनमा सङ्घीयता बिषय नभएको र अब प्रतिगामीहरूले सङ्घीयतासँगै गणतन्त्रलाई कमजोर बनाउने प्रयास गरिरहेका बताए।

अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले सङ्घीयता विरोधी आन्दोलनको महत्त्व बढेको बताएका थिए। उनका अनुसार, राष्ट्रिय जनमोर्चाले २०६३ सालदेखि सङ्घीयताको विरोध गर्दै आएको छ र अहिले पनि सङ्घीयताका कारण गणतन्त्रको मूल्यांकन आवश्यक भएको छ।

अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले सङ्घीयता सीमित व्यक्तिहरुको स्वार्थपूर्ति गर्न ल्याइएको भन्दै यसले देश र जनतालाई आर्थिक रुपमा बोझिल बनाएको तर्क गरे। उनले पार्टीको दायराभन्दा माथि उठेर देशको पक्षमा सोचेर सङ्घीयता खारेज गर्ने निर्णय लिनुपर्ने आवश्यकता औँल्याए।

तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलमले सङ्घीयताको कार्यान्वयनले राष्ट्रिय अखण्डता कमजोर गरेको र त्यसैले उनीहरूले सङ्घीयता विरोधी आन्दोलनलाई अगाडि बढाइरहेको उल्लेख गरे।

अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष पदम रोकाले सङ्घीयतालाई कोमामा पुगेको बिरामीसँग तुलना गर्दै त्यसलाई बचाउनु असम्भव भन्ने विचार व्यक्त गरे। उनले भारत र पश्चिमा देशहरूले नेपालको जनमतलाई छिन्नभिन्न पार्न सङ्घीयता लादेको आरोप लगाए।

प्रदर्शन र सांस्कृतिक कार्यक्रम

कार्यक्रमको प्रारम्भमा विभिन्न स्थानबाट आएका हजारौँ प्रदर्शनकारीहरूले जुलुस प्रदर्शन गरेका थिए। जुलुस भृकुटीमण्डपमा पुगेर विशाल जनसभामा परिणत भयो। कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानले गीतसङ्गीत र नृत्य प्रस्तुत गरेको थियो भने प्रगतिवादी साहित्यकार रामप्रसाद गैरेले गजल वाचन गरे।

सो सभा राजमो अध्यक्ष चित्रबहादुर केसी, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, र अन्य नेताहरूको उपस्थिति रहेको थियो।

तस्बिरहरू हेर्नुहाेस ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार