• ट्रेण्डिङ :

वीरगञ्जमा दुई समुदायबीच झडप, ४३ जना घाइते

वीरगञ्जमा दुई समुदायबीच झडप, ४३ जना घाइते

प्रहरी प्रमुखसहित सुरक्षाकर्मी र सर्वसाधारण अस्पतालमा

cnewsnepal

आइतबार, चैत्र ३१ २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


वीरगञ्ज, पर्सा । हनुमान जन्मोत्सवको अवसरमा शनिबार वीरगञ्जमा दुई समुदायबीच भएको तनावपूर्ण झडपले हिंसात्मक रूप लिँदा सुरक्षाकर्मीसहित ४३ जना घाइते भएका छन्।

झडपको क्रममा एकापसमा ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर सिंहसहित दर्जनौं सुरक्षाकर्मी घाइते भएका छन्।

नेपाल प्रहरीका १७, सशस्त्र प्रहरीका ८ घाइते
पर्सा प्रहरी  प्रमुख मिश्रका अनुसार, नेपाल प्रहरीका १७ जना र सशस्त्र प्रहरी बलका ८ जना घाइते भएका छन्। “मेरो पनि दाहिने हातमा चोट लागेको छ, तर गम्भीर छैन,” उनले भने, “अन्य प्रहरीहरूलाई भने केही गम्भीर चोटपटक लागेको छ।”

घाइते हुनेमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं समेत रहेका छन्।त्यस्तै वडा प्रहरी कार्यालय श्रिपुर पर्साका प्रहरी निरिक्षक श्याम  कुमार वस्नेत र ईलाका प्रहरी पाेखरीयाका प्रहरी निरीक्षक शाेरूप शर्मा समेत घाईते भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सर्वसाधारण पनि घाइते
झडपका क्रममा सर्वसाधारण पनि प्रभावित भएका छन्। प्रहरी प्रमुख मिश्रका अनुसार, ढुङ्गा प्रहारका कारण १२ जना सर्वसाधारण घाइते भएका छन्।

नारायणी अस्पतालमा ४३ जनाको उपचार
नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले ४३ जना घाइतेको उपचार भइरहेको जानकारी दिए। “धेरैजसोको टाउको र छातीमा ढुङ्गा वा इँटा लागेका छन्,” उनले बताए, “कतिपय सामान्य उपचारपछि घर फर्किसकेका छन् भने केहीको अझै उपचार भइरहेको छ।”

त्यस्तै, सूर्य हस्पिटल प्रालिका प्रमुख डा. सरोज सिंहका अनुसार डीएसपी सिंहसहित केही प्रहरी त्यहाँ उपचाररत छन्। “एक जनाको खुट्टा भाचिएको छ,” उनले भने, “अरूलाई सामान्य चोट लागेको थियो, उपचारपछि डिस्चार्ज गरिएको छ।”

कर्फ्यू आदेश जारी
स्थितिलाई नियन्त्रणमा लिन पर्सा जिल्ला प्रशासन कार्यालयले शनिबार बेलुकादेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले शान्ति सुरक्षा कायम राख्न सर्वसाधारणलाई संयम अपनाउन अनुरोध गरेको छ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार