पर्सा, ५ वैशाख । हालैको तनावपछिको अवस्थालाई सामान्य ठहर गर्दै पर्सा जिल्लाको प्रशासनले वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाएको छ।
जिल्ला सुरक्षा समितिको बिहीबार साँझ सम्पन्न बैठकले शान्तिसुरक्षा अवस्था सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा हटाउने निर्णय गरेको हो।
वैशाख १ गतेदेखि शोभायात्रामा भएको दुईपक्षीय झडपका कारण तनाव सिर्जना भएपछि स्थानीय प्रशासनले महानगरका विभिन्न क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको थियो। पाँच दिनपछि अवस्था सामान्य भएपछि प्रशासनले निषेधाज्ञा फिर्ता लिएको हो।
प्रमुख जिल्ला अधिकारी अर्यालले सर्वसाधारणमा संयमित र जिम्मेवार रहन आग्रह गर्दै सुरक्षा संयन्त्रहरू आवश्यक सतर्कताका साथ परिचालित रहने जानकारी दिए।