२१ बैशाख,काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बैशाख २० गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा सम्पन्न भएकाे छ ।
बैठकले हालै सम्पन्न ‘‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी: तराई–मधेस जागरण अभियान’’’को विस्तृत समीक्षा गरेको हाे।
बैठकमा उक्त अभियानले राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको निष्कर्ष निकाल्दै, माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्रकै अभियान बन्न पुगेको ठहर गरिएको जनाएको छ। जनसमुदायको उल्लेखनीय सहभागिता र समर्थनप्रति आभार व्यक्त गर्दै धन्यवाद प्रस्ताव समेत पारित गरिएको छ।
बैठकले आगामी जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरु गर्ने निर्णय समेत गरेको छ। त्यसैगरी, माओवादीप्रति बढ्दो जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षहरूबारे गहिरो छलफल गरिएको बैठक स्रोतले जनाएको छ।