• ट्रेण्डिङ :

अध्यक्ष प्रचण्डको दाबी: “मध्यपहाडी लोकमार्गदेखि आर्थिक सुधारसम्मका अभियान माओवादी नेतृत्वमै सुरु”

अध्यक्ष प्रचण्डको दाबी: “मध्यपहाडी लोकमार्गदेखि आर्थिक सुधारसम्मका अभियान माओवादी नेतृत्वमै सुरु”

cnewsnepal

शनिबार, बैशाख २७ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


२६ बैशाख पाँचथर ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचथरको फिदिम बजारमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै माओवादी नेतृत्वको सरकारको पालामा सुरु भएका विभिन्न पूर्वाधार विकास अभियानहरूबारे प्रकाश पारेका छन्।

अध्यक्ष प्रचण्डले आफ्नो सम्बोधनमा मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, र देशभरका उत्तर–दक्षिण करिडोरजस्ता महत्त्वपूर्ण पूर्वाधार विकास परियोजनाहरू माओवादी नेतृत्वको सरकारकै पालामा सुरु भएको दाबी गरे।

उनले भर्खरै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ जनताको समर्थनमा सफल भएको भन्दै, केही दिनमा औपचारिक रूपमा सुरु हुने अभियानको पूर्वसंकेतका रूपमा पाँचथरको कार्यक्रमलाई उल्लेख गरे।

“मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौं, यसको पूर्वी सुरुआत पाँचथरमै रहेको छ,” अध्यक्ष प्रचण्डले भने, “यस क्षेत्रका जनताको हितमा बनेका पूर्वाधार अभियानहरू माओवादीले नै सुरु गरेका हुन्।”

प्रचण्डले पछिल्लो सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन, र आर्थिक सुधारका प्रयासलाई अवरोध पुर्‍याइएको उल्लेख गरे। “बैंक ब्याजदर घटाउने, बैंकिङ प्रणाली सुधार गर्ने, जनताको पक्षमा काम गर्दा बिचौलिया र दलालहरूको विरोध भयो, जसका कारण अपारदर्शी ढंगले सरकार ढालियो,” उनले दाबी गरे।

संविधान मिचेर सरकार ढालिएको आरोप लगाउँदै, प्रचण्डले कांग्रेस र एमालेसँग पटक–पटक सहकार्य गर्दा माओवादी पनि उनीहरूजस्तै देखिएको स्वीकारे। तर अब पार्टी एक्लै जनताको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष प्रचण्डले स्थानीय तह, स्ववियू निर्वाचन, र पत्रकार महासंघलगायतका पछिल्ला निर्वाचनमा माओवादी केन्द्रले उल्लेखनीय सफलता हासिल गरेको दाबी गर्दै, आगामी निर्वाचनमा पार्टी एक्लै अगाडि बढ्ने र जनताको पक्षमा सुरु गरिएका कामलाई निरन्तरता दिने बताए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार