२६ बैशाख,वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन्।
वीरगञ्ज महानगरपालिका–१६ मा नागवा खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास कर्यक्रममा सम्बोधन गर्दै उनले शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि पर्याप्त बजेट सुनिश्चित गरिने बताएका हुन् ।
मन्त्री यादवले सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यसहित बजेट वृद्धि हुने उल्लेख गरे। “नागरिकलाई शुद्ध सुरक्षित खानेपानी वितरण गर्नु मेरो प्रमुख लक्ष्य हो,” उनले भने, “खानेपानी क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुनेछ।” आगामी आर्थिक वर्ष २०८२/८३ सम्म सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन मन्त्रालय सक्रिय रहने उनले स्पष्ट पारे।
उनका अनुसार तराई, मधेस, हिमाल र पहाडका सबै क्षेत्रमा स्वच्छ पानी पुर्याउने योजना बनाइएको छ। स्थानीय तह र उपभोक्ताको सहकार्यमा खानेपानी आयोजना एकीकृत रूपमा सञ्चालन हुने मन्त्री यादवले बताए। नागवा खानेपानी ओभरहेड ट्याङ्की आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र उनले नियमित अनुगमन गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले नागवा आयोजनाबाट वडा नम्बर १५ र १६ का करिब तीन हजार पाँच सय घरधुरी लाभान्वित हुने जानकारी दिए। हालसम्म खानेपानी अभावमा कठिनाइ झेलिरहेका स्थानीय बासिन्दाले आयोजनाको सम्पन्नतासँगै सहज, शुद्ध र पर्याप्त पानी प्राप्त गर्ने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा वीरगञ्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंह, वडा नं–१६ की वडासदस्य लवङ्गी देवी, वडा नं–१५ का वडाध्यक्ष रमेश यादव, वडा नं–१६ का वडासदस्य प्रमोद यादव, जसपा जिल्ला अध्यक्ष सिंघासन साह तेली, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, जसपा केन्द्रीय सदस्य जन्नत अंसारी र पुरषोत्तम लाल झा लगायतको सहभागिता रहेको थियो।