१ जेठ,काठमाडौं । बागबजारको एउटा साँघुरो गल्लीमा अवस्थित सहारा गेष्टहाउसको कोठा नम्बर ३०१ बाट तीव्र गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरे।
प्रहरी टोली पुग्दा ढोकामा बाहिरबाट ताल्चा लागेको थियो। होटल सञ्चालकका अनुसार, यो ताला गेष्टहाउसले प्रयोग गर्ने ताला थिएन। स्थानीय जनप्रतिनिधिको उपस्थितिमा ताला फोडेर प्रहरीले कोठाभित्र प्रवेश गर्यो।
अनुसन्धान विवरण अनुसार, मिति २०८१।१२।२९ गते अपराह्न १७:०० बजे प्रहरी वृत्त सिंहदरबारबाट प्र.ना.उ. गंगा प्रसाद पौडेलको नेतृत्वमा टोली गेष्टहाउस पुगेको थियो। पाँचौँ तलामा रहेको कोठा नम्बर ३०१ को ढोकामा बाहिरबाट ताला लागेको थियो, जुन गेष्टहाउसले प्रयोग गर्ने ताला होइन। सञ्चालक ईश्वरी कार्कीले ताला आफूहरूले नलगाएको पुष्टि गरेपछि स्थानीय जनप्रतिनिधिको उपस्थितिमा ताला फोडियो।
कोठाभित्र छिरेपछि पाँच ओटा ओछ्यान राखिएको कोठाको बीचमा एउटा सिरकले छोपिएको अवस्थामा एउटा शव फेला पर्यो। शवको दुबै हात फैलिएको अवस्थामा थिए भने सिरकले छोपिएको भागमुनि महिलाको लाश रहेको थियो। शव सडिसकेको र पहिचान गर्न नसकिने अवस्थामा थियो। महिलाको शरीरको माथिल्लो भागमा ब्रा मात्र थियो भने अन्य भाग नग्न अवस्थामा थियो। शवसँगै महिलाले प्रयोग गर्ने कुर्ता, सुरुवाल, पेन्टी, हुक र पुरुषले प्रयोग गर्नेजस्तो देखिने पेन्टी पनि फेला पर्यो।
प्रहरीले कोठामा पेचकस र ढुङ्गा पनि फेला पारेको छ। त्यस्तै, च्यातेर फालिएको अवस्थामा बैंकको चेक पनि भेटियो। सो चेकलाई जोडेर हेर्दा नेपाल एसबिआई बैंक लिमिटेड न्युरोड शाखामा रामचन्द्र पन्त र सुशिला पन्तको संयुक्त खाता रहेको पुष्टि भयो। प्रहरीको टोलीले बैंकलाई पत्राचार गरी खाताको विवरण माग गर्यो।
अनुसन्धानका क्रममा मृतक महिलाको नाम बिमला तामाङ भएको खुल्यो। उनी नुवाकोटको सूर्यगढी नगरपालिका १ घर भएकी थिइन्, तर काठमाडौँको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा बस्दै आएकी थिइन्। प्रहरी अनुसन्धानले बिमलाको हत्यामा संलग्न व्यक्ति रामचन्द्र पन्त रहेको पुष्टि गर्यो। उनी धादिङको गल्छी गाउँपालिका घर भई काभ्रेस्थलीमै बस्दै आएका थिए।
प्रहरीका अनुसार, घटना पछि रामचन्द्र पन्त भारत भागेका थिए। तर, सूचना पाएपछि प्रहरी टोलीले उनलाई काठमाडौंको नागढुंगाबाट नियन्त्रणमा लियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले घटनाको अनुसन्धान तीव्र रुपमा भइरहेको जानकारी दिए। उनले भने, ‘हाम्रो अनुसन्धान टोलीले सबै प्रमाणहरु संकलन गरिरहेको छ। घटनामा संलग्नताको शङ्का गरिएका व्यक्तिहरुको पृष्ठभूमि समेत खोतल्दै छौं।’
प्रवक्ता अपील राज बोहराले भने, ‘घटनाको सम्बन्धमा अनुसन्धान जारी छ र हामी सबै प्रमाणहरु सुरक्षित गर्दै थप अनुसन्धान गरिरहेका छौं।’
बिमला तामाङको हत्याको घटनाले राजधानी काठमाडौंलाई फेरि एक पटक अपराधको केन्द्रमा ल्याएको छ। प्रहरीका अनुसार, हत्या आरोपी रामचन्द्र पन्त भारतीय पूर्व सैनिक हुन्, जसले बिमलासँगको विवादपछि उनलाई हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।