९ जेठ, काठमाडौँ। प्रधान केपी शर्मा ओलीले पोखरा भ्रमणका क्रममा तीन दशकअघिको जेल जीवनसँग जोडिएको एक आत्मीय सम्झना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
पोखरा महानगरपालिका–१६ दीपमा बसोबास गर्नुहुने ८३ वर्षीया राममाया रानाभाटसँगको पुनः भेटलाई स्मरणीय क्षणका रूपमा प्रस्तुत गर्दै उनले लेखेका छन्— “निरङ्कुश पञ्चायती शासनकालमा मलाई बिना अभियोग नख्खु जेलमा राखिएको थियो। २०३९ साल माघ ३ गते पोखरा जेल सारिएपछि तीन वर्ष त्यहीं बसेँ। त्यस समयमा राममाया दिदी कहिलेकाहीँ खाना लिएर भेट्न आउनुहुन्थ्यो। उहाँ मलाई बाबू भनेर सम्बोधन गर्नुहुन्थ्यो।”
प्रधानमन्त्री ओलीले पोखरा जाँदा राममाया रानाभाटसँग भेट भएर सञ्चो–बिसञ्चोको कुराकानी भएको जनाएका छन्। “यसअघि पनि उहाँसँग भेट भएको थियो, तर आजको भेटले विगतका ती कठिन दिनहरू झल्झली सम्झायो,” उनले लेखेका छन्।
यो प्रसङ्ग साझा गर्दै ओलीले जीवनका कठिन घडीमा साथ दिने सम्बन्धहरू कहिल्यै बिर्सन नसकिने भन्दै राममाया रानाभाटप्रतिको सम्मान र कृतज्ञता व्यक्त गरेका छन्।