१ साउन / काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकतालाई ५ साउनमा सचिवालय बैठकले पूर्णता दिने सहमति भएको छ ।
लामो छलफलपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बाँकी रहेको एकता प्रक्रिया टुंगो लागेको नेताहरुले बताएका छन् । मंगलबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलबाट एकता प्रक्रिया टुंगो लगाइएको हो ।
असार मसान्तभित्र पार्टी एकतालाई पूर्णता दिने सार्वजनिक घोषणालाई पुरा गर्न दुई अध्यक्ष केही दिनदेखि लगातार छलफलमा थिए । मंगलबार भएको छलफलमा विभागहरुको भागवण्डा टुंगो लगाएको छ । पार्टीको ३२ मध्ये १८ वटा तत्कालीन एमाले र १४ वटा तत्कालीन माओवादीको भागमा परेको छ ।
संगठन, स्कुल, प्रचार लगायतका विभागमा कसलाई ल्याउने भन्ने ठूलो रस्साकस्सी छ । संगठन विभागमा रामबहादुर थापा बादल र बामदेव गौतमको दाबी छ भने स्कुल विभागमा ईश्वर पोखरल र नारायणकाजी श्रेष्ठको दाबी छ ।
केन्द्रीय सल्लाहकार समिति, जेष्ठ कम्युनिस्ट मञ्च र तीन आयोगबारे सचिवालयमै छलफल गर्ने सहमति भएको छ । त्यो बैठकबाट जिल्ला इञ्चाज तथा सहइञ्चार्ज तोक्ने, सम्पर्क मञ्चबारे पनि निर्णय गर्ने सहमति जुटेको छ ।
नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डले पटक पटक असार मसान्तभित्र एकताका बाँकी प्रक्रिया टुंगोमा पुर्याउने प्रतिवद्धता जनाएका थिए । सोही अनुसार आज करीब ३ घण्टा लामो छलफलबाट दुई अध्यक्षले एकताको टुंगो लगाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार अध्यक्षद्धय ओली र प्रचण्डबीच भएको छलफलले एकता प्रकृया टुंगो लगाएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । उनले प्राविधिक कुराहरु साउन ५ गते बस्ने सचिवालयको बैठकबाट अनुमोदन गरेर सार्वजनिक गरिने पनि बताए ।
जेठ २१ गतेदेखि तीन दिनसम्म बसेको नेकपा सचिवालको बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज, पोलिटब्युरो गठन, कार्यसमितिको कार्यविभाजन लगायतका विषयमा टुगो लगाउन अध्यक्षद्धयलाई जिम्मेवारी दिएको थियो ।
सोही अनुसार अध्यक्षद्धय अोली र प्रचण्डले एक महिना गृहकार्य गरि त्यसलाई टुंगो लगाएका हुन् ।
मंगलवार नेकपा ललितपुर कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचडले पार्टीको एकता प्रकृया आजै टुगों लगाउने घोषणा गरेका थिए ।
प्रचण्डले भनेका थिए, ‘जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार मञ्च, आयोग र विभागको विवाद टुगिंएको छ । बाँडफाँट भइसकेको छ, अब ती खाली ठाउँमा नाम भर्न मात्र बाँकी छ । आज पार्टी एकता टुगों लगाउने वित्तिकै संगठनलाई सुदृढ बनाउने अभियान सञ्चालन हुन्छ ।’
जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जमा भने ६० र ४० को आधारमा बाँडफाँड भएको बताइएको छ । जिल्लामा रहेका तत्कालिन एमाले र माओवादी केन्द्रका तत्कालिन इन्चार्ज र सहइन्चार्जबाट नेकपाका जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गर्ने बताइएको छ ।
२०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो ।