१० जेठ, पोखरा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा देखिएको पछिल्लो घटनाक्रमसँग गृह मन्त्रालयको नेतृत्व जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचारप्रति मन्त्रालयले गम्भीर आपत्ति जनाएको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्ता कपोलकल्पित, भ्रामक र आधारहीन समाचारप्रति दुःख व्यक्त गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “यस्ता कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं।” साथै, सत्यतथ्य मात्र प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्दै मन्त्रालयले गैरजिम्मेवार ढंगले आएको समाचारले अनावश्यक भ्रम फैलाउने काम गरेको उल्लेख गरेको छ।
मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै मन्त्रालयले शून्य सहनशीलताको नीति अनुरूप अनियमितता र अपराध नियन्त्रणमा कटिबद्ध रहेको जनाएको छ। गृह प्रशासनमा नीतिगत तथा संस्थागत सुधारका कामहरू पनि सँगसँगै अघि बढाइएका छन्।
विमानस्थल अध्यागमन कार्यालयको काम कारवाहीका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हाल अनुसन्धान भइरहेको र अनुसन्धान सम्पन्न भएपछि सत्यतथ्य बाहिर आउने मन्त्रालयले जनाएको छ। आयोगको अनुसन्धान प्रक्रियामा गृह मन्त्रालयको पूर्ण सहयोग रहने समेत जानकारी दिइएको छ।
प्रेस विज्ञप्तिमा सहसचिव छवि रिजालको हस्ताक्षर रहेको छ।