काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले कसैका रिसले गणतन्त्र सिद्धिएको तमासा नहेर्न जनतासित अपिल गरेका छन् ।
गणतन्त्ररक्षाका लागि नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहसमेतको उपस्थितिमा जेठ १० गते राजधानीमा आयोजित अन्तरक्रियात्मक भेटघाट कार्यक्रममा मन्तव्य राख्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले भने– ‘कसैको रिसले लोकतन्त्र, गणतन्त्र नै सिद्धिएको तमासा नहेरौँ ।’
अहिलेको प्रतिगमन नेपालको इतिहासमै सबैभन्दा खतरनाक हुने बताउँदै उनले गणतन्त्ररक्षाको सवालमा गम्भीर हुन आग्रहसमेत गरे ।
आम जनता सत्तारूढ राजनीतिक दलको व्यवहारबाट आजित भएको स्पष्ट पार्दै उनले व्यङ्ग्य गरे– ‘सारा नेताहरू कोही सुनचोर, कोही के चोर ? को छ चोखो ?’
आफूले सत्तारूढ दलका विकृति विरुद्ध संसद्मा र जनताको माझमा आवाज उठाउँदै आएको बताए ।
उनले भने– ‘तपाईंहरूको सम्पत्ति जोख्नुस्, मेरो पनि सम्पत्ति जोख्नुस् भनेर मैले संसद्बाटै भन्ने गरेको छु ।’
नेपालका राजा संवैधानिक हुन सक्दैनन्
मन्तव्यको क्रममा उहाँले नेपालमा राजाहरू संवैधानिक हुनै नसक्ने ठोकुवा गरे ।
‘त्रिभुवनले दिल्लीबाटै म संवैधानिक राजा बन्छु भने पनि यहाँ आएर सोअनुसार गरेनन्’ उनले भने– ‘ज्ञानेन्द्रले संविधानिक बन्छु भनेरै हो २०५९ सालमा कू गरेको तर उनले के गरे ? तपाईंलाई थाहै छ ।’
अध्यक्ष केसीले वीरेन्द्र पनि संवैधानिक बनेर नबसेको, भित्रभित्रै चलखेल गरेको दाबी उनको थियो ।
उनले भने– ‘नेपालका राजाहरू संवैधानिक बनेर बस्न सक्दैनन्, सत्ता पाएपछि निरङ्कुश नै बन्छन् ।’
अहिले पनि राजावादीले संवैधानिक राजतन्त्रको कुरा गरे पनि त्यसप्रति विश्वास गर्न नसकिने बताए ।