• ट्रेण्डिङ :

कमल थापालाई “अमानवीय तवरले” पक्राउ गरिएको भन्दै विज्ञप्ति मार्फत निन्दा

कमल थापालाई “अमानवीय तवरले” पक्राउ गरिएको भन्दै विज्ञप्ति मार्फत निन्दा

cnewsnepal

आइतबार, जेष्ठ १८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१८ जेठ,काठमाडौं । संयुक्त जनआन्दोलन समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमाथि भएको प्रहरी दमनको घोर भत्सर्ना गरेको छ।

समितिका संयोजक नवराज सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई “अमानवीय तवरले” पक्राउ गरिएको भन्दै त्यसको कडा निन्दा गरिएको छ।

शान्तिपूर्ण विरोध कार्यक्रमकै क्रममा कमल थापालाई पक्राउ गरिनुका साथै उनलाई भेट्न गएका राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य दीपक सिंहलाई समेत संसदीय मर्यादा विपरीत हिरासतमा लिएको घटनाले सरकारको अधिनायकवादी चरित्र उजागर भएको समितिको आरोप छ।

विज्ञप्तिमा संविधानप्रदत्त अधिकार प्रयोग गर्ने क्रममा पक्राउ परेका कमल थापा, दीपक सिंहलगायत सबै आन्दोलनकारीलाई तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गरिएको छ।

साथै, सरकारले गरेको “बर्बर दमन”को विरोधस्वरूप आन्दोलनको स्वरूप परिवर्तन गर्दै भोलि जेठ १९ गते उपत्यका बन्दको घोषणा गरिएको जनाइएको छ।

उपत्यका बन्दलाई सफल बनाउन आन्दोलनमा सहभागी सबै सहयोद्धालाई आ–आफ्नो टोल र चोकमा सक्रिय भूमिका निर्वाह गर्न समितिले आह्वान गरेको छ। साथै, प्रहरी दमनका क्रममा घाइते भएका सबै व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत विज्ञप्तिमा गरिएको छ।

हेर्नुहाेस विज्ञप्ति 

प्रतिक्रिया
सम्बन्धित समाचार