• ट्रेण्डिङ :

छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औं वर्षगाँठमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औं वर्षगाँठमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

cnewsnepal

बुधबार, जेष्ठ २१ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


२१ जेठ,काठमाडौं । छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औं वर्षगाँठका अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुभकामना सन्देश जारी गरेका छन्।

शुभकामना सन्देशमार्फत उनले सामाजिक न्याय, समानता र स्वतन्त्रताको पक्षमा नेपाली जनताले गरेका संघर्ष र जनआन्दोलनको जगमा नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको उल्लेख गरेका छन्।

उनले वि.सं. २०६३ साल जेठ २१ गते पुनर्स्थापित संसद्बाट नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको स्मरण गर्दै यो कदम तीन हजार वर्षदेखि दलित समुदायमाथि भइरहेको सामाजिक विभेद अन्त्य गर्न उठाइएको ऐतिहासिक पहल भएको बताए। प्रचण्डले दशकौंसम्मको जनयुद्ध र २०६२/६३ को जनआन्दोलनबाट निर्माण भएको संविधानले दलित समुदायका हक–अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै संविधानमा छुवाछूत तथा विभेदलाई गम्भीर सामाजिक अपराधका रूपमा परिभाषित गरिएको धारणा राखे।

तर संवैधानिक प्रावधानहरू कार्यान्वयनमा चासो नदेखाइनु दुःखद पक्ष भएको उनले बताए। ऐन, नियम र नीति निर्माण तथा कार्यान्वयनमा भएको ढिलाइका कारण आज पनि दलित समुदाय विभेद, उत्पीडन र बहिष्करणको चक्रमा रहेको उनको भनाइ थियो।

प्रचण्डले आफ्नो नेतृत्वमा रहेको सरकारले “अधिकारसम्पन्न दलित विकास प्राधिकरण” को अवधारणा अघि सारेको भए पनि त्यसलाई वर्तमान सरकारले निरन्तरता नदिनु गम्भीर बेइमानी भएको आरोप लगाए। उनले जातीय विभेद र आर्थिक शोषण अन्त्य गर्न विशेष पहल, नीति तथा कार्यक्रम आवश्यक रहेको बताए।

उनले प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेटमा दलित समुदायका मुद्दाहरू उपेक्षित हुनु सरकारले उत्पीडित वर्गप्रति देखाएको असंवेदनशीलता भएको टिप्पणी गरे।

शुभकामना सन्देशको अन्त्यमा उनले दलित समुदायमाथि राज्यसत्ताबाट गरिएको ऐतिहासिक अन्यायको क्षतिपूर्ति दिनुपर्ने पार्टीको मागलाई पुनः दोहोर्‍याउँदै, त्यसका लागि पार्टीको प्रतिबद्धता निरन्तर रहने उल्लेख गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार