जातीय समता समाजका महासचिव भक्त विश्वकर्माले काठमाडौँको सम्पन्न सुनारलाई भन्दा जुम्लाको विपन्न बाहुनलाई आरक्षण दिनुपर्ने बताउनुभएको छ ।
युगदर्शन मिडियाका लागि २०८२ जेठ २१ गते बुधबार भिडियो अन्तर्वार्ता दिँदै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।
उहाँ हरेक समाजमा व्यवस्था परिवर्तन हुँदा पाइने सुविधा टाँठाबाठाले नै लिने र पिँढमा परेकालाई त्यो सुविधा सकभर नदिने तितो यथार्थतर्फ इङ्गित गर्दै हुनुहुन्थ्यो ।
‘जुम्लामा बसेको एउटा बाहुन परिवारको मान्छे र काठमाडौँको सम्पन्न परिवारमा जन्मेको सुनारको लाइफस्टाइल एउटै हुँदैन । जुम्लामा बसेको बाहुनले भारी बोकेरै गुजारा गरिरहेको हुन्छ’ उहाँले भन्नुभयो– ‘त्यसैले आरक्षण त्यो बाहुनलाई दिनु उचित हुन्छ ।’
आरक्षण आवधिक हुनुपर्ने बताउँदै उहाँले आरक्षणकै कारणले समाजमा अरू तप्का पीडित हुन नहुने धारणासमेत राख्नुभयो ।
उहाँले भन्नुभयो– ‘आरक्षणले दलितलाई सधैँ अगाडि बढाइदिने होइन, कुनै बेला हटाउनैपर्दछ किनभने यस्ता आरक्षण दिँदै जाँदा भोलि अरू पीडित हुनुपर्ने अवस्था आउन सक्छ ।’
राष्ट्रिय भेला
आगामी जेठ २३ र २४ बुटवलमा राष्ट्रिय भेला भेला आयोजना गरिएको जानकारी दिँदै उहाँले त्यसमा ४०–४२ जिल्लाबाट प्रतिनिधित्व हुने जानकारी दिनुभयो ।
प्रतिगामी खतरा
युगदर्शनसित कुराकानीको क्रममा उहाँले नेपाललाई दुई सय वर्षपछाडि धकेल्ने काम राजसंस्थाले नै गरेको ठोकुवा गर्नुभयो ।
राजसंस्थाले राष्ट्रियताको रक्षा गर्दछ भन्ने दाबीलाई उहाँले ठाडै खारेज गर्नुभयो ।
‘राष्ट्रियताको विषयमा राजाकै पालामा सुरु भएको थियो गडबडी हुन । २०३६ सालमा उनीहरूले निर्दललाई बलियो बनाउन लाखौँ भारतीयलाई नागरिकता दिन सुरु गरेका थिए’ उहाँले भन्नुभयो– ‘आफ्नो सत्ता चलाउन कालापानीमा सेना बसाले । त्रिभुवन त देशै इन्डियालाई बुझाउन गएका हुन् ।’
ज्ञानेन्द्र शाहको व्यवस्थामा सुधार गर्ने दाबीप्रति उहाँले व्यङ्ग्य कस्नुभयो ।
उहाँले भन्नुभयो– ‘छोरो सुधार्न नसक्नेले राज्य सुधार्छ ? एउटा परिवार बचाउन नसक्नेले देश बचाउँछ ? यी सब वाहियात कुरा हुन् ।’
समता : पुरानो सङ्गठन
उहाँले जातीय समता समाज नेपालको सबैभन्दा पुरानो सङ्गठन भएको जानकारी दिनुभयो ।
नेपालका चर्चित दलित नेताले समता समाजको मुखपत्र “समता सन्देश” पढेर राजनीति सुरु गरेको अभिव्यक्ति दिने गरेको उहाँले स्मरण गर्नुभयो ।
स्वार्थकै लागि आस्था नबदल्न आग्रह गर्दै उहाँले निष्ठाको यात्रामा अविचल लागिरहे देशको भविष्य उज्ज्वल रहेको विश्वास व्यक्त गर्नुभयो ।
न्यायको पक्षमा बाहुन सांसदको साथ
अन्तर्वार्ताको क्रममा उहाँले सत्ताधारी पार्टीका दलित सङ्गठनका नेता वा सांसदहरू न्यायको पक्षमा उभिन नसकेको स्मरण गर्नुभयो ।
रुकुमको चौरजहारी सोती घटनाको स्मरण गर्दै उहाँले त्यहाँ छानबिन गरेर यथार्थ प्रतिवेदन ल्याउन दलित सांसदले साथ एक जना सांसदको अभिव्यक्ति स्मरण गर्नुभयो ।
‘मीन विश्वकर्माले भन्नुहुन्थ्यो, मलाई दलित सांसदले साथ दिनुभएन सही प्रतिवेदन ल्याउन तर बाहुन सांसदले साथ दिनुभयो’ महासचिव विश्वकर्माले अगाडि भन्नुभयो– ‘छानबिन समितिमा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल हुनुहुन्थ्यो ।’