२३ जेठ,रूपन्देही । आर्थिक वर्ष सकिन लाग्दा रूपन्देहीका नदी खोलामा ठेक्का दिएर मनपरी ढुंगा, गिटी, बालुवा उत्खनन भइरहेका छन्। तिनाउ, दानव, रोहिणी, कोइलाबासलगायतका खोलामा दैनिक सयौँ टिपर, ट्र्याक्टरले सामग्री ओसारिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी प्रदिप क्षेत्रीले बरिष्ठ सई प्रकाश रावतलाई घुमुवाको रूपमा परिचालन गरेपछि नदी माफियाले झनै खुलेआम दोहन गरिरहेका छन्। रावतलाई विगतमा तस्करी र असान्दर्भिक गतिविधिमा मुछिएको आरोप लागेको थियो।
ठेकेदारहरूले दर्जनौं स्काभेटर प्रयोग गर्दै नदीजन्य पदार्थ सीधै क्रसर उद्योगमा पुर्याउने, मापदण्डविपरीत गहिरो उत्खनन गर्ने र घाटगद्दी नगर्ने गरेका छन्।
तिलोत्तमा–६ स्थित कश्यप रोडा उद्योग कारबाहीमा परेको छ भने प्रमुख जिल्ला अधिकारीदेखि प्रहरी प्रमुखसम्मको अनुगमन निष्क्रिय भएको स्थानीयको गुनासो छ।
जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चापागाईंले प्रभावकारी अनुगमन गर्न नसकिएको स्वीकार गरेका छन्। स्थानीय तह र प्रहरी–प्रशासनको मिलेमतोमा दोहन बढिरहेको नेकपा माओवादी केन्द्रका नेता श्याम बराइलीले आरोप लगाए।
नदी दोहनले वातावरणीय सन्तुलनमा गम्भीर असर पुर्याइरहेको छ। कृषि भूमि कटान, जैविक विविधता नष्ट, बाढीको जोखिम र भू–क्षय बढ्दै गएको छ।
नदी संरक्षण अब विकल्प नभएर आवश्यकता बनेको छ। सशक्त निगरानी र कानुनी कार्यान्वयन अपरिहार्य छ।