• ट्रेण्डिङ :

गुर्जुधाराको आन्दोलनपछि चन्द्रागिरिका वामपन्थी शक्ति एक ढिक्का: अब पालिकाको बेथिति, कमिसनतन्त्र र घुसखोरी विरुद्ध सशक्त प्रतिवाद गर्ने घोषणा

गुर्जुधाराको आन्दोलनपछि चन्द्रागिरिका वामपन्थी शक्ति एक ढिक्का: अब पालिकाको बेथिति, कमिसनतन्त्र र घुसखोरी विरुद्ध सशक्त प्रतिवाद गर्ने घोषणा

cnewsnepal

शुक्रबार, जेष्ठ २२ २०८३
पढ्न लाग्ने समय: < ३ मिनेट


काठमाडौँ, २२ जेठ । चन्द्रागिरि नगरभित्र क्रियाशील प्रमुख वामपन्थी राजनीतिक दलहरूले राष्ट्रियता, जनभावना र सुशासनको सवालमा ऐतिहासिक कार्यगत एकता प्रदर्शन गरेका छन्। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको गैर-जिम्मेवारपूर्ण अभिव्यक्तिको घोर विरोध गर्दै हिजो बिहीबार चन्द्रागिरिको गुर्जुधारामा विशाल संयुक्त जनप्रदर्शन सफलतापूर्वक सम्पन्न भएको छ।

​हिजोको आन्दोलनको भव्य सफलतासँगै चन्द्रागिरिमा वामपन्थी घटकहरू जनताको एउटा बलियो र उदाउँदो शक्तिका रूपमा स्थापित भएका छन्। नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को यो मोर्चा अब चन्द्रागिरिभित्र जगडिएर रहेको बेथिति, भ्रष्टाचार, कमिसनतन्त्र र घुसिया प्रवृत्ति विरुद्ध एक ढिक्का भएर वारपारको लडाइँमा लाग्ने घोषणा गरेको छ।

बेथिति र घुसखोरी विरुद्ध वामपन्थीहरूको साझा मोर्चा

​गुर्जुधारामा उर्लिएको जनसागरले स्थानीय सरकार (चन्द्रागिरि नगरपालिका) भित्र मौलाएको प्रशासनिक सुस्तता र अनियमितता विरुद्ध कडा चेतावनी दिएको छ। वामपन्थी नेताहरूका अनुसार हिजोको आन्दोलन एउटा सुरुवात मात्र हो; अब चन्द्रागिरिका कुना-कुनामा पुगेर भ्रष्टाचारीहरूको भण्डाफोर गरिनेछ।

​जनता महँगो कर र महँगीको मारमा परिरहेका बेला राज्यकोषको पैसाबाट हुने अनुत्पादक भ्रमण संस्कृति, विभिन्न तालिमका नाममा हुने ‘असुली धन्दा’, विकास निर्माणका योजनामा हुने ‘कमिसनको खेल’ र सर्वसाधारणलाई दुःख दिने ‘घुसिया प्रवृत्ति’ विरुद्ध यो मोर्चाले अब जनस्तरमै सशक्त प्रतिरोध गर्ने रणनीति बनाएको छ।

“हाम्रो एकता चन्द्रागिरिको घुसिया प्रवृत्ति र कमिसनतन्त्र ढाल्नका लागि हो” : अध्यक्ष उत्तम बहादुर राउत

​आन्दोलन र आगामी कार्यदिशाबारे बोल्दै नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तम बहादुर राउतले वामपन्थीहरूको यो एकता चन्द्रागिरिको विकृतिका विरुद्ध एउटा बलियो किल्ला भएको बताउनुभयो।

​”प्रधानमन्त्रीको गैर-जिम्मेवार अभिव्यक्तिले राष्ट्रिय गरिमामा चोट पुर्‍याएको छ, जसको विरुद्ध हिजो चन्द्रागिरिका जनता सडकमा उत्रिए। तर हाम्रो लडाइँ यतिमा मात्र रोकिँदैन,” अध्यक्ष राउतले दृढताका साथ भन्नुभयो, “चन्द्रागिरि पालिकामा अहिले जनताको काम गर्न घुस माग्ने र हरेक योजनामा कमिसन सेटिङ गर्ने ‘घुसिया प्रवृत्ति’ हाबी भएको छ। तालिम र भ्रमणका नाममा बजेट सिध्याउने खेल भइरहेको छ। यो बेथिति तोड्न चन्द्रागिरिका सबै वामपन्थी दलहरू अब एक भएका छौँ। हिजोको आन्दोलनले जनताको शक्ति ब्युँझिएको संकेत गरेको छ। अब चन्द्रागिरिमा भ्रष्टाचार गर्ने जोकोहीलाई पनि जनताले छाड्ने छैनन्, हामी सम्बन्धित निकायबाट कानुनी कारबाही गराएरै विश्राम लिनेछौँ।”

जनताको नयाँ भरोसा: अब निरन्तर जनस्तरमा जाने संकल्प

​हिजोको ऐतिहासिक प्रदर्शनले चन्द्रागिरिको राजनीतिमा नयाँ शक्ति सन्तुलन पैदा गरिदिएको छ। स्थानीयबासीले यस वामपन्थी मोर्चालाई आफ्नो ‘अधिकारको असली संवाहक र पहरेदार’ का रूपमा स्विकारेका छन्।

​प्रधानमन्त्रीको गैर-जिम्मेवार कदमको विरोधसँगै स्थानीय तहका विकृति सच्याउन अब यो मोर्चा  आक्रामक रूपमा प्रस्तुत हुनेछ। कुनै पनि सरकारी कार्यालय वा विकास निर्माणमा हुने बदमासी, कमिसनको खेल र घुसखोरी विरुद्ध वामपन्थी शक्तिहरूले तत्कालै संयुक्त रूपमा ‘एक्सन’ लिने र जनतालाई न्याय दिलाउने उद्घोष गरेका छन्। हिजोको आन्दोलनले चन्द्रागिरिमा वामपन्थी शक्तिहरू जनविरोधी तत्वका विरुद्ध एउटा अभेद्य पर्खाल र जनताको असली शक्तिका रूपमा उदाएको स्पष्ट सन्देश दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार