हुम्ला, २८ जेठ । जिल्लाको दुर्गम भेगमा रहेका असाहय र आर्थिक रूपमा विपन्न नागरिकका लागि नेपाल प्रहरी भरोसाको केन्द्र बनेको छ ।
ढुङ्गा फुटाउने क्रममा गम्भीर घाइते भई आर्थिक अभावका कारण उपचार पाउन नसकेका एक स्थानीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले उद्धार र आर्थिक सहयोग गरेको छ ।
नाम्खा गाउँपालिका वडा नं. ०१ बस्ने सोनाम टासी लामा केही समय अघि ढुङ्गा फुटाल्ने क्रममा दुर्घटनामा परेका थिए । ढुङ्गाको टुक्रा उछिट्टिएर उनको बायाँ आँखामा गम्भीर चोट लागेको थियो । घाइते लामालाई तत्काल जिल्ला अस्पताल हुम्ला पुर्याइए पनि त्यहाँ उनको उपचार सम्भव हुन सकेन ।
जिल्ला अस्पतालले थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरे पनि लामासँग न त गाडी भाडा थियो, न त उनको हेरचाह गर्ने परिवार र आफन्त नै कोही थिए । असाहय र आर्थिक रूपमा अत्यन्तै विपन्न रहेका लामाले थप उपचारको व्यवस्था मिलाइदिन र आर्थिक सहयोग गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय हुम्लामा निवेदन पेश गरेका थिए ।
नागरिकको यो गम्भीर र पीडादायी अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाका कार्यालय प्रमुख, प्रहरी नायव उपरीक्षक (DSP) शंकर खड्काले तत्कालै अग्रसरता देखाउनुभएको छ । डीएसपी खड्काले व्यक्तिगत एवं संस्थागत रूपमा घाइते लामालाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पठाउन गाडी भाडा र औषधोपचार खर्चबापत नगद आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
सहयोग हस्तान्तरण गर्दै डीएसपी खड्काले भन्नुभयो, “प्रहरी केवल शान्ति सुरक्षाका लागि मात्र होइन, जनताको सुख-दुःखको सारथी पनि हो । असाहय र विपन्न नागरिकलाई संकटको बेला सहयोग गर्नु हाम्रो मानवीय धर्म हो र नेपाल प्रहरी सधैं नागरिककै सेवामा समर्पित रहनेछ ।”
आफन्तविहीन अवस्थामा प्रहरीले अभिभावकको भूमिका निभाएर उपचारका लागि सहयोग गरेपछि घाइते सोनाम टासी लामाले नेपाल प्रहरी र डीएसपी खड्काप्रति भावुक हुँदै आभार प्रकट गरेका छन् ।