वामदेव विच्किए पछि प्रचण्ड सक्रिय, पोखरेलको पनि छुट्टै भेला

काठमाडौं, २३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय पार्टीभित्र भेटघाटमा सक्रिय छन् ।

अर्का अध्यक्ष केपी शर्मा ओली स्वदेशमा नभएको मौका छोपेर प्रचण्ड आन्तरिक भेटवार्तामा सक्रिय भएको चर्चा विभिन्न सन्चार माध्यमा छाएको छ ।

यो चर्चासँगै सत्तारुढ दलमा प्रचण्डको सक्रियताका बारेमा ब्यापक विश्लेषण भइरहेको छ । प्रचण्डको तिब्र भेटघाटको विषयमा केन्द्रित भएर कार्यबाहक प्रधानमन्त्री एबं रक्षामन्त्री इश्वर पोखरेलले आफु निकट नेताहरुसँग गोप्य वार्ता गरेको समाचार स्रोतले जनाएको छ ।

गोप्य वार्तालाई अहिले बाहिर नलाने सहमती समेत भएको स्रोतले जनाएको छ । स्कुल विभाग आफुले पाउनु पर्ने अडान पोखरेलको छ ।

पार्टीभित्र अध्यक्ष केपी ओली र प्रभावशाली नेता वामदेव गौतमबीच नयाँ गठबन्धन बन्ने हल्ला चलेपछि प्रचण्डले आफ्नो भेटवार्तालाई तिव्रता दिएका हुन् ।

यो बीचमा नेकपाभित्र नयाँ समिकरण बनेको कुरा मिडियामा चर्चा हुन थालेपछि प्रचण्ड सशंकित बनेका छन् । पार्टी एकतादेखि अहिलेसम्म प्रचण्ड र नेता गौतमबीच सुमधुर सम्बन्ध रहँदै आएको थियो ।

पछिल्लो समय उनीहरु बिच पनि खटपट भएको एक नेताले बताए । अध्यक्ष प्रचण्ड पनि केहि दिन दुवईमा आराम गरेर स्वदेश फर्किएका हुन् ।

उनी फर्किएसँगै महासचिव पौडेलसँग प्रचण्डले नेताहरूको कार्यविभाजनका बारेमा छलफल गरेका थिए । त्यसैगरि प्रचण्डले परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली  ऊर्जामन्त्री वर्षमान पुन, जर्नादन शर्मा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव लगायत नेतासँग आफ्नै निवासमा छलफल गरिसकेका छन्। प्रचण्डको सक्रियताले सत्तारुढमै खैलाबैला मच्चिएको हो ।

उता,स्कुल,संगठन विभागको नेतृत्वलाई लिएर सत्तारुढ दलमा सकस परिरहेको समयमा प्रचण्डले किन राजनितिक दौड मच्चाए ? त्यो पनि प्रधानमन्त्री एबं अध्यक्ष केपी ओली विदेश गएको समयमा ।

आगामी महाधिवेशनमा पार्टीको नेतृत्व आफुले लिने जनाउ दिएका प्रचण्ड अहिलेदेखिनै भेटवार्तामा रौसिएका छन् । ‘एकता प्रक्रिया टुंग्याउन अब ढिला गर्नु हुँदैन भन्दै प्रचण्डले आफ्नो भनाई राख्दै आएका छन् ।

उच्च स्रोतका अनुसार पछिल्लो समय उनले बरिष्ठ नेता माधव कुमार नेपाललाई समेत पटक पटक भेट्दै आइरहेका छन् ।

४ दिने यू्एईको पारिवारिक भ्रमण सकेर स्वदेश फर्केको भोलिपल्टै रामेछाप र सिन्धुलीको सिमानामा रहेको खैरेनीघाट (सुनकोसी) पुल उद्घाटन कार्यक्रममा सहभागीहुँदै पूर्वराजा ज्ञानेन्द्र शाहप्रति तिखो अभिव्यक्ति दिएका उनले त्यहाँबाट फर्केपछि गोप्य भेटवार्तालाई तिब्रता दिएका हुन्।