• ट्रेण्डिङ :

समृद्ध नेपाल र सुखी नेपालीको आधार सुत्रनै शिक्षा हो : प्रचण्ड

समृद्ध नेपाल र सुखी नेपालीको आधार सुत्रनै शिक्षा हो : प्रचण्ड

cnewsnepal

आइतबार, मंसिर २२ २०७६
पढ्न लाग्ने समय: < ३ मिनेट


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्ध नेपाल र सुखी नेपालीको आधार सुत्रनै शिक्षा भएको बताएका छन् ।


चन्द्रागिरि नगरपालिका वडा नम्बर १ मा रहेको श्रीकृष्ण माध्यमिक विद्यालय भवन उद्घाटनमा अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रमा गुणात्मक सुधार नभएसम्म देशमा समृद्धि, विकास र सभ्यताको सपना पुरा नहुने उल्लेख गर्नुभयो ।

उहाँले सरकारले प्रविधिमैत्री व्यवसायीक शिक्षा उपलब्ध गराउने योजनासहित व्यवसायीक र प्रविधिको अनुपात ७० प्रतिशत र सैद्धान्तिक शिक्षाको अनुपात ३० प्रतिशत हुनेगरी राष्ट्रिय शिक्षा नीति ल्याउन लागिएको जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले अहिले नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा रहेको उल्लेख गर्दै प्राविधिक र व्यवसायीक शिक्षाको विकास गरी देशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक विद्यालयमा प्राविधिक र व्यवसायीक शिक्षा उपलब्ध भएपछि रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने समेत बताउनुभयो ।

अध्यक्ष प्रचण्डले संसारको विकसित राष्ट्रको रुपमा युरोपलाई लिने गरिन्छ, आज पनि ती देशको पहिलो प्राथमिकता शिक्षा नै रहेको पाइन्छ । हाम्रो जस्तो विकासोन्मुख देशको पहिलो खुड्किलो शिक्षा नै रहेकोले जबसम्म शिक्षा क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान गरिदैन, शिक्षाको गुणस्तरमा सुधार ल्याइँदैन र शिक्षामा प्रयाप्त बजेट विनियोजन गरिदैन तबसम्म शिक्षा र देशको विकासले काँचुली फेर्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले पहिले सामुदायिक विद्यालयलाई अभिभावक र विद्यार्थीले हेर्ने दृष्टिकोण फरक रहेपनि अहिले गुणस्तरीय शिक्षाका कारण त्यस्तोस्थिति नरहेकोसमेत बताउनु भयो ।

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले बत्तिमुनीको अँध्यारो भनेझै चन्द्रागिरि नगरपालिका ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय हिसाबले भरिपूर्ण हुँदा पनि पछि परेकोमा दुःख व्यक्त गर्नुभयो । उदाहरण दिंदै उहाँले पहिले टुकी बालिन्थ्यो छेउमा अँध्यारो हुन्थ्यो, अहिले विजुली बत्ती बालिन्छ नजिक झनै उज्यालो हुन्छ भनेझै चन्द्रागिरि नगरपालिका काठमाडौं भित्रको एक ऐतिहासिक, साँस्कृतक र पर्यटकीय क्षेत्रले भरिपूर्ण रहँदा रहँदै पनि ओझेलमा पर्नु आफैमा दुखद् भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संघीय सांसद कृष्णगोपाल श्रेष्ठले सरकारी विद्यालय निम्न वर्गिय विद्यार्थीहरुका लागि मात्र स्थापित हुर्दै गईरहेको प्रति चिन्ता व्यक्त गर्दे सरकारी कर्मचारी जनप्रतिनिधि र शिक्षक शिक्षिकाको छोराछोरीहरुलाई पनि अनिवार्य समुदायीक विद्यालयमा पढाउनु पर्ने बताउनु भयो ।


कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले सामुदायीक विद्यालयमा गुणस्तरीय शिक्षाका साथै प्राविधिक शिक्षा तर्फ आफु केन्द्रित रहेको जिकिर गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामनारायण विडारी, , अञ्जना विसंखे, अमृत थापामगर, विना श्रेष्ठ, संविधानसभा सभासद् रुपा महर्जन, प्रदेश सांसद, केशव पोखरेल, रमा आलेमगर, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख लिशा नकर्मी, वडा अध्यक्षहरु, विद्यालयका अध्यक्ष शशी गिरी, हास्यकलाकार दीपकराज गिरीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार